२०८२ मङ्सिर १ गते सोमवार

खाेपमा सबैकाे पहुँच हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डौ,भदौ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एसियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रको क्षेत्रीय समितिको आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको ७४ औँ बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।

उनले नेपालको स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्त्वपूर्ण निर्णय लिने बताए । प्रधानमन्त्री देउवाले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र पहुँच नपुगेकाहरूलाई प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको तर्फबाट स्वास्थ्य मन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गरेका हुन । बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताए । उनले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको भन्दै आउँदो असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड–१९ महामारीले अझै पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पुर्‍याइहेको बताए । दक्षिण–पूर्वी क्षेत्रमा गएको वैशाखमा सङ्क्रमणको सङ्ख्या बढेकोमा अहिले सङ्क्रमण तथा मृत्युको सङ्ख्यामा कमी आएको देख्दा आफूलाई खुसी लागेको बताए ।

क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपालले कोभिड–१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पुर्‍याएको बताए । उनले सबै स्वास्थ्य सेवामा अवरोध आएको र स्वास्थ्यकर्मी गलेका भन्दै हाम्रा सामुन्ने बहुमुखी चुनौती रहेको धारणा राखे ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *