२०८२ कार्तिक २९ गते शनिवार

संवैधानिक परिषदसम्बन्धी रिटको सुनुवाइ रोक्न भएको आदेशबारे छलफल गर्न नेपाल बारको बैठक बस्ने

काठमाडौँ,भदौ १८ । संवैधानिक परिषदका निर्णयविरूद्ध संवैधानिक इजलासमा परेका मुद्दाको सुनुवाइ तत्काल नगर्न भन्दै भएको आदेशबारे छलफल गर्न नेपाल बार एसोसिएसन सल्लाहकार समितिको बैठक बस्ने भएको छ।

आइतबार दिउँसो साढे चार बजे बारको सल्लाहकार समितिको बैठक बस्न लागेको महासचिव लिलामणि पौडेलले जानकारी दिए।

उनका अनुसार बिहीबार न्यायाधीश हरि फुयाँलको इजलासले गरेको निर्णय, केहीसमय अघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायपालिकामा विसंगतिबारेको अध्ययन प्रतिवेदनमाथि उक्त बैठकले छलफल गर्नेछ।

नेपाल बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष र उपाध्यक्षहरू, उपत्यकाभित्रका बार एसोसिएसनका अध्यक्षहरू र नेपाल बारको कार्यसमितिका पदाधिकारी लगायतको संलग्नता हुन्छ।

बिहीबार संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोक्न न्यायाधीश हरि फुयाँलले गरेको आदेश, न्यायपालिकामा विसंगति अध्ययन गर्न बनेको समितिको प्रतिवेदन लगायतका विषयमा छलफल हुँदैछ,ु महासचिव पौडेलले भने।

बिहीबार न्यायाधीश फुयाँलको इजलासले सर्वोच्च अदालतले संवैधानिक परिषदको अध्यादेश र त्यसअनुसार संवैधानिक निकायमा भएका नियुक्ति सिफारिसविरूद्ध परेका रिटमाथिको सुनुवाइ तत्काल नगर्न आदेश गरेको थियो।

परिषदका सदस्य रहेकाले ती रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई विपक्षी बनाइएको छ।

प्रधानन्यायाधीशलाई संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएको भन्दै अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिट अन्तिम टुंगो नलाग्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई विपक्षी बनाएर दायर भएका रिटमा सुनुवाइ नगर्न आदेश भएको हो।

इजलासले गरेको आदेशमा यो विषयमा अदालतलाई सहयोग गर्न चार जना एमिकस क्यूरी बोलाउने आदेश पनि गरेको थियो।

नेपाल बार एसोसिएसनबाट २ र सर्वोच्च अदालत बारबाट २ जना गरी चार एमिकस क्यूरी पठाइदिन आदेश दिएको छ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *