
तुलसीपुर, भदौ १५ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोदसिंहलाई कालोमोसो दल्ने मुख्य योजनाकार मानिएका सर्जन परियार प्रहरीमा आँफै गएका छन् ।
परियारले मंगलबार मध्यान्हः १२ बजेतिर आफ्नो सामाजिक सञ्जाल मार्फत त्यस्तो जानकारी दिएका हुन ।
जसमा परियारले कानुनलाई सहयोग गर्ने उदेश्यले आँफु स्वएंम प्रहरीमा गएको बताएका छन् ।
‘न्यायको पक्षमा, अन्याय र झुटा मुद्दाको बिरुद्धमा हिरासत भित्रै हामी भोक हर्ताल गर्ने छौं,’ उनले लेखेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दूई दिन अगाडि मोसो दल्ने मुख्य ब्यक्ति डिल्ली डाँगीसहित दिवश क्षेत्रीलाई घोराहीको रतनपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
हालसम्म तीन जना पक्राउ परि सकेको एसपी काफ्लेले बताए ।
एसपी काफ्लेले घटनामा झन्डै दश जना जतिको संलग्नता देखिएको भन्दै अरु भने फरार रहेको जानकारी दिए ।
तर, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने हालसम्म चार जना पक्राउ परेको जानकारी दिएका छन् ।
दूई जनालाई प्रहरीले पक्राउ गरेको र थप दूई जना मंगलबार जिप्रकामा आँफै आएको प्रजिअ कुरुम्बाङले जानकारी दिए ।
उनका अनुसार अब घटनामा संलग्न थप दूई जना मत्रै फरार रहेका छन् ।
पक्राउ परेकाहरु बिरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धि अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको प्रजिअ कुरुम्बाङले बताए ।
जसमा बढीमा ५ बर्षसम्म जेल सजाएको ब्यबस्था रहेको छ ।
यसैबीच घटनाका योजनाकार मानिएका मुख्य ब्यक्ति आँफै प्रहरीमा पुगेपछि शनिबारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अब काममा फर्किने भएका छन् ।
मेसु सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको बिरोधमा जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु काम रोकेर आन्दोलनमा उत्रिएका थिए ।
आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा पर्दशन गरेका उनीहरुको बुधबार लमहीमा त्यस्तै पर्दशन गर्ने योजना रहेको थियो ।