बुटवल,भदौ १३ । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ।
वडा नं.३ को ज्योतिनगरमा चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको छ।
पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् ।
पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।
प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार