२०८१ असार ६ गते बुधवार

दाङमा पहिलो पटक कस्तुरीको बिना बरामद

तुलसीपुर, भदौ ७ । दाङ प्रहरीले छुट्टा छुट्टै दूई वटा अप्रेसनबाट कस्तुरीको बिना र तीनवटा चितुवाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनमा एसपी सुरेश काफ्लेले घोराही उपमहानगरपालिका वडा नं.१५ शहिद गेट स्थित होटेल टुडे प्लाजाबाट कस्तुरीको बिनासहित दूई ब्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही ७ का ३३ बर्षीय मोहन बुढा र प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. १ का २२ बर्षीय मदन केसी छन् ।

एसपी काफ्लेले गोप्य सूचनाको आधारमा आइतबार बेलुका चार बजेतिर होटेलको कोठा नं. २ मा बसी रहेका बुढा र केसीको साथबाट कस्तुरीको बिना बरामद भएको बताए ।

बरामद कस्तुरीको बिनाको तौल ३१ ग्राम दूई सय मिली ग्राम रहेको छ । जिल्लाका कस्तुरीको बिनासहित तस्कहरु पक्राउ परेको यो नै पहिलो घटना हो ।

पत्रकार सम्मेलनमा उपस्थित केही पत्रकार र प्रहरी अधिकारीले समेत आफ्नो जीवनमै पहिलो पटक कस्तुरीको प्रत्यक्ष देख्न पाएको वा स्पर्ष गर्न पाएको भन्दै खुसी साटेका थिए ।

 

तीन थान चितुवाको छालापनि बरामद
प्रहरीले दाङको लमही नगरपालिका वडा नं. ९ बाट तीन थान संरक्षित तथा लोपउन्मुख वन्य जन्तु चितुवाको छालासहित थप तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं.६ का २० बर्षीय बिमल औजी, सोही ठाउँका २८ बर्षीय प्रदीपकुमार बिक र २० बर्षकै हेमन्त औजीलाई शनिबार साँझ सवा ६ बजेतिर अमेलियास्थित चेक पोष्टबाट पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय अमेलियाको संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरबाट लमही तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कार चेकजाँच गर्ने क्रममा तीन युवासहित तीन थान चितुवाको छाला बरामद गरेको हो ।

प्रहरीका अनुसार कार बिमल औजाले चलाएका थिए भने प्रदीप र हेमन्त पछाडि बसेका थिए ।

प्रदीप र हेमन्तको बीचमा राखिएको झोलाबाट तीन थान चितुवाको छाला बरामद भएको पत्रकार सम्मेलनमा एसपी सुरेश काफ्लेले बताए ।

बरामद चितुवाको छालाहरु पुच्छरदेखि टाउकोको भागसम्म ७ फिट ६ इञ्च लम्बाई, अगाडिको खुट्टाको बीचको भागको चौडाई ४ फिट ७ इञ्च रहेको थाला एउटा, अर्कौ टाउकोदेखि पुच्छर सम्मको लम्बाई २ फिट ८ इञ्च र तेस्रो छालाको लम्बाई पुच्छरदेखि टाउकोसम्म २ फिट रहेको डिएसपी रिजालले बताए ।

एकै साथ तीन वटा छालाहरु सुदुरपश्चिमबाट दाङ बेच्नका लागि ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो ।

नियन्त्रणमा लिइएका संरक्षित तथा दूर्लभ बन्यजन्तु मध्य कस्तुरीको बिना र चितुवाका तीन वटा छालासहित पक्रपाउ परेका पाँच ब्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरीले डिभिजन वन कार्यालयमा पठाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *