बुटवल,साउन ३१ । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् ।
एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् ।
एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र आफैं उपस्थित भई स्पष्टीकरण बुझाउन शाहीलाई निर्देशन गरेको थियो ।
एमालेले सोधेको स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।
२०७४ को आम निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको दुई बुंदे सहमतिमा पनि ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख छ ।
शाही साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए । एमालेको संसदीय दलको वैठकले विशेष अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको थियो । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।