काठमाडौँ,साउन २९ । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वोच्चले हेर्न नमिल्नेमा राखेको हो ।
आलमविरुद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ ।
आलमलाई इँटा भट्टाभित्र मजदुरलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले पनि सदर गरेको थियो ।
उक्त आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट दायर गरेका थिए । आलमको मुद्दा किन हेर्न नमिल्नेमा राखिएको भन्ने प्रश्नमा सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले भने, ‘पीडित पक्षको जाहेरी सुरुमा दर्ता भएन । नभएपछि परमादेश माग गर्दै पीडित पक्ष फेरि अदालत आए । सर्वोच्चले जाहेरी दर्ता गरी अनुसन्धान गर्नु भनेर परमादेश जारी गर्यो । अदालतको आदेश अनुसारको काम भएन भनेर अवहेलना आएको थियो । अवहेलना आउँदा न्यायाधीश कुमार रेग्मीले कुनै आदेश गर्नु भएको रहेछ । त्यो आदेश मैले गरेको हुनाले अहिले मुद्दा मैले हेर्न मिलेन भन्नु भयो । त्यसैले हेर्न नमिल्नेमा परेको हो ।’