२०८१ चैत्र ६ गते बुधवार

स्थानीयको हत्या आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर-उपमेयर अझै फरार

जनकपुरधाम, साउन २८ । स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन्।

उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।

घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। २०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो।

झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो। सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए।

उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए। प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ। फरार व्यक्तिहरूको खोजी गरिरहेको कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति : २०७८ साउन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *