२०८१ चैत्र १४ गते बिहिवार

लक्षित बर्ग सबैले किन, कोरोना खोप लगाउन पाएनन् ?

पहुँच वाला हावी,लक्षित बर्ग बञ्चित भए

तुलसीपुर, साउन ५ । ‘आइतवार भोलि आउनु भनियो, सोमवार पनि भोलि आउनु भनियो र मंगलवार भनियो खोप त सकियो ।’ तुलसीपुर उपमहानगरपालिका ५ अवस्थित तुलसी वोर्डिङ स्कुलका शिक्षक शंकर रिजालको अभिव्यक्ति हो यो ।

शंकर करिव ३ घण्टा लाइनमा बसेपनि खोप पाउन पाएनन् । प्रादेशिक अस्पताल तुलसीपुर खोप केन्द्रको परिदृश्य यस्तै अस्त ब्यस्त थियो ।

तुलसीपुर १७ झिंगैका धर्मबहादुर केसीले सोमवार र मंगलवार दूई दिन धाउँदापनि मानपुर स्वास्थ्य चौकिमा कोरोना भाइरस विरुद्धको खोप लगाउन पाएनन् ।

उनी विद्यालय कर्मचारीको कोटामा मात्र नभएर सरकारले निर्धारण गरेको लक्षित उमेर समुहको कोटामा पनि परेका थिए । दुवै कोटामा पाउनुपर्ने भएपनि उनलाई भोलि – भोलि भन्दै फर्काइयो ।

तुलसीपुरकै एउटा वडाका जनप्रतिनिध खोपकै सवालमा उपमहानगरपालिकाको स्वास्थ्य प्रमुखसंग बाझाबाझको स्थितिमा पुगे । किनकि खोप सुरु भएको दोस्रो दिन उनको वडामा एउटापनि खोप पुग्न सकेन । खोप नपुगेको लगाउन नपाएको यस्तो समस्या तुलसीपुरमा मात्रै हैन घोराहीमा पनि फरक थिएन । जिल्लाका अधिकाँस पालिकामा मानिसहरुले यस्तै नियति भोग्नु परेको गुनासो गरेका छन् । उरहरीमा रातिमा खोप लगाएको स्थानीयले बताएका छन् ।

घोराही उपमहानगरपालिका – १५को पद्मोदय पव्लिक मावि केन्द्रमा पनि लक्षित उमेर समुहका सवैले खोप लगाउन नपाएपछि खोप केन्द्र वाहिर निकै तनावको अवस्था बन्न पुगेको थियो ।

जिल्लाका दशवटै पालिकाका सवै खोप केन्द्रहरुमा सरकारले जारी गरेको निर्देशिका अनुसार लक्षित समुहलाई खोप पुग्न सकेन । धेरै नागरिकहरुले उमेर समुहमा परेरपनि खोप पाउन पाएनन् ।

त्यसैले खोप नपाएको गुनासो संगै आक्रोसहरु पोखिएका थिए । खोप केन्द्रहरु तनाब पूर्ण बने । खासमा कर्मचारी र जनप्रतिनिधिको पहुँचका आधारमा खोप लगाउँदा यस्तो समस्या उत्पन्न भएको जानकारहरु बताउँछन् । घोराहीको एउटा खोप केन्द्रमा एक जना आमाले त्यही भनिरहेकी थिइन ।

मंगलवार साँझसम्म यस्तै तनाबका बीच खोप केन्द्रहरु गुज्रिए । जिल्लामा उपलव्ध सवै कोरोना भाइरस विरुद्धको भेरोसिल खोप सकिएको छ । अब बुधवार खोप लाउन पाइने छैन ।

अनुमान अनुसार लक्षित समुह मध्ये कम्तिमा ३० प्रतिसतले अझै खोप पाउन सकेका छैनन् । जिल्लामा प्रदेश सरकारबाट प्राप्त कोटा संभवतः सकिइ सकेको छ ।

जनप्रतिनिधि र कर्मचारीहरुको पहुँच हावी हुदा लक्षित वर्गले खोप पाउन सकेनन् । खोप कुन÷कुन समुहलाई लगाउने भन्ने सन्दर्भमा स्पष्ट व्यवस्थापन गर्न नसकेको देखियो । बरु त्यसमा आफ्ना आफन्त र चिनजानका ब्यक्तिहरुलाई जनप्रतिनिधिहरुले सिफारिस गरे । त्यो देखेरपनि कर्मचारी मौन बसे ।

अन्ततः दुवै क्षेत्रको पहुँचका आधारमा खोप प्रदान गरियो । जनप्रतिनिधिका नातेदार, दलिय स्वार्थका नेता कार्यकर्ता तथा कर्मचारीका आशेपासेलाई विभिन्न वाहनामा खोप दिएको कुरा कतै छिपेको छैन ।

‘हामी लक्षित वर्गमा परेपनि खोप पाउन सकेनौं,’ तुलसीपुरको प्रादेशिक अस्पतालमा भेटिएका एक ज्येष्ठ नागरिकले भने ‘ हाम्रो लागि आएको खोप युवा युवतिले लगाएको आँखैले देखियो ।’

उनको आक्रोश जनप्रतिनिधि र कर्मचारीसंग मात्र थिएन, त्यो कुरा उजागर नगरेको भन्दै पत्रकारहरुप्रति पनि लक्षित थियो । ‘तपाँई पत्रकारहरुले पनि टुलुटूलु हेरेर मात्र बसिदिनु भो,’ उनले भने ‘ तपाँईहरु पनि चुप लाग्दा मनोमानी भयो र हामीले खोपबाट बञ्चित हुनु प¥यो ।’

कोरोना बिरुद्धको खोप पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो । तर, हामी कहाँ सरकारले खोप अभावमा निश्चित उमेर समुह निर्धारण गरी खोप लगाउँदै आएको छ । बाँच्ने चाहाना सबैलाई हुन्छ । त्यसैले खोप हारालुछ हुन पुग्यो ।

सरकारले हरेक जिल्लामा खोप लगाउने क्रममा यो पटक ५५ बर्ष भन्दा माथि उमेर समुहका सवै नागरिक, संपूर्ण शिक्षक,प्राध्यापकहरु,यातायात क्षेत्रका श्रमिकहरु, विदेश जाने नागरिकहरु, फ्रन्टलाइनमा खटिने छुटपुट पत्रकार, कर्मचारी, सुरक्षाकर्र्मी, यस अघि छुटेका सवै ज्येष्ठ नागरिकहरु तथा अत्यावस्यक सेवामा कामगर्ने सवै नागरिकहरुलाई खोप लगाउने सूचना सार्वजनिक गरेको थियो ।

तर, यी सवै लक्षित समुहलाई पुग्ने गरि जिल्लामा खोप भने आउन सकेन । खोप प्राप्तीका लागि एकिन तथ्यांक उपलव्ध गराउन जिल्ला श्वास्थ्य कार्यालयले सकेन वा खोप लगाउने सन्दर्भमा व्यवस्थापन हुन सकेन भन्नेमा गम्भीर वहसको अवस्था यो पटकको खोप अभियानले ल्याएको छ ।

दाङ जिल्लामा लक्षित समुहका लागि करिव ३८ हजार खोप प्राप्त भएको यस अघि बताइएपनि ती सवै खोपहरु एकैपटक जिल्लामा स्टक राख्न सक्ने र निरन्तर लगाउन सक्ने अवस्था नहुंदा समस्या भएको जिल्ला जनश्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार मंगलवार सांझ सम्म करिव ३० हजारभन्दा बढीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ । दाङ तेश्रो चरणको अभियान अन्तर्गत ३ दिनको अवधिमा अहिलेसम्म ३० हजार बढी नागरिकलाई भेरोसिल खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

तर, खोप लगाउने संख्या ३८ हजार पुग्ने जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
‘यो पटक जिल्लामा ३८ हजार नागरिकलाई कोरोना खोप लगाउने कार्यक्रम रहेको छ, त्यही अनुसार अहिलेसम्म ३० हजार बढीलाई खोप लगाईसकिएको छ’–प्रमुख शाहीले भने–‘बाँकी अहिले पनि चलिरहेकाले यो संख्या बढ्ने छ ।’

लक्षित बर्गका मानिसहरुलाई खोप लगाउने भनिएपनि जिल्लामा पहुँच वालाको दवाबमा खोप लगाउन लक्षित समूहले कोरोना खोप पाउन नसकेको समेत प्रमुख शाहीले बताए ।

‘लक्षित वर्गअन्तर्गत ५५ बर्ष माथि उमेर समूह नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको थियो’–उनले भने–‘तर पहुँच वालाका कारण लक्षित वर्ग नै खोपबाट बञ्चित हुनु पर्ने अवस्था केही स्थानमा आएको छ ।’

लक्षित वर्गभन्दा पनि पहुँजको आधारका खोप लगाउँन खोज्दा खोप लगाउन खोप केन्द्र पुगेर पनि धेरै नागरिकहरु निराश भएर फर्किनु परेको छ । तै, स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले नागरिकलाई नआत्तिन र धैर्यता राख्न आग्रह गर्छन ।

सोलोडोलोमै अभियान
सरकारले जारी गरेको सुचना नागरीकले पुग्ने गरी खोप प्राप्त नभएकाले समस्या भएको तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य महाशाखाले जनाएको छ ।

‘सोलोडोलोमा खोप लगाउने उद्घोष गर्दा समस्या भयो । सरकारले जारी गरेको सूचना अनुसार सवै तह र तप्काको एकिन तथ्यांक लिनै समेत समस्या छ’, श्वास्थ्य महाशाखा प्रमुख ओम प्रकाश न्यौपानेले भने ।

शिक्षकहरु, यातायात व्यवसायीहरु, अत्यावस्यक सेवामा खटिनेहरुको कुनैपनि पालिकामा एकिन तथ्यांक तत्काल उपलव्ध हुने अवस्था नरहेको प्रमुख न्यौपानेले बताए ।

त्यसैले कुन समुहलाई कहिले खोप लगाउने भन्ने तालिका पनि जनश्वास्थ्य कार्यालयले सार्वजनिक नगर्दा समस्या भएको उनले बताए ।

तुलसीपुरमा जनसंख्याकै सवालमा पनि समस्या देखिने गरेको छ । हजारौं नागरिकहरु ऐलानी र खोला किनारामा अव्यवस्थित बसोबास गर्नु र विसं २०६८ सालको जनसंख्याका आधारमा लक्षित समुह निर्धारण गर्नुले सवै लक्षित नागरिकहरुलाई खोप प्रयाप्त हुन नसक्ने उनको तर्क थियो ।

अर्को समस्या भनेको जुनसुकै पालिकाका जनप्रतिनिधिहरुले लाइनमा बसेकालाई नफर्काउने अपेक्षा राखेका कारणपनि लक्षित समुह भन्दा वाहिरका नागरिकहरुले खोप पाएको हुन सक्ने उनले बताए ।

यातायात श्रमिकहरु सवैलाइ खोप लगाउने भनेपनि सरकारले सवैलाई पुग्ने खोप पठाएको छैन । जिल्ला श्वास्थ्य कार्यालयले समेत यस्ता नागरीकहरुको अनुमानित तथ्यांक समेत प्रक्षेपण गर्न सकेको छैन ।

जिल्लामा अटो चलाउनेदेखि ठूला सवारी चलाउने कतिश्रमिकहरु छन् ? भन्ने तथ्यांकनै उपलव्ध नभएको अवस्थामा प्राप्त सिमित खोपबाट अभियान चलाउनुले चुनौति थपिएको जानकारहरु बताउँछन् ।

सरकारले तोके अनुसार सवै लक्षित समुहलाई खोप उपलव्ध गराउने हो भने तुलसीपुरमा मात्रै कम्तिमा १५ हजार खोप आवस्यक हुने जनश्वास्थ्य निरिक्षक तथा कोरोना फोकल पर्सन विमल केसीले बताए । सरकारले निर्दिष्ट गरेको अत्यावस्यक सेवामा तरकारी व्यवसायीदेखि डेरी सञ्चालकसम्म पर्ने भएकाले पनि सवै समुहलाई खोप उपलव्ध गराउन प्रदेश सरकारले उपलव्ध गराएको कोटाले नपुग्ने उनको बुझाई छ ।

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *