सबै तस्विर ः फरककोण ।
तुलसीपुर,असार २३ । हाल दाङका बिभिन्न स्थानमा जलासय र लिफ्ट सिंचाईका योजनाहरु धमाधम निर्माण भइरहेका छन् ।
बृहत दाङ उपत्यका सिंचाई आयोजनाले जिल्लालाई जलासययुक्त बनाउने उदेश्यका साथ आयोजना सुरु गरेको हो ।
दाङ उपत्यका मरुभूमिकरण हुँदै गएको, सिंचाईको सुबिधा नपाएको जस्ता गुनासोहरु ब्यापक बनिरहँदा २०७३ सालमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सिंचाई मन्त्री हुँदा उनकै पहलमा नेपाल सरकारले आयोजना निर्माण गरेको हो ।
आयोजनाले जिल्लाको ५६ हजार हेक्टर खेतियोग्य जमिनमा बाह्रै महिना पूर्ण सिंचाई सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
त्यसबाट कृषि उत्पादनमा बृद्धि गरि कृषकहरुको जिवनस्तर उकास्ने र आर्थिक समृद्धिको दिशा पहिल्याउने आयोजनाको मुख्य उद्देश्य रहेको आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए ।
सोही उदेश्यका साथ आयोजनाले २०७४÷०७५ सालदेखि काम सुरु गरेको सूचना अधिकारी गौतमले बताए । यो आयोजना २०७३ मंसिरमा सञ्चालनमा आएको थियो ।
उदेश्य अनुरुप अहिले केही साना सिँचाई आयोजनाको निर्माण कार्य सम्पन्न भएका छन । केही ठूला सिंचाईका पूर्वाधार र जलाशय निमार्णको कामहरु जारी छ ।
आयोजनाका प्रमुख राजु आचार्यका अनुसार अहिले भूमिगत सिंचाई प्रणाली, नयाँ प्रबिधिमा आधारित सिंचाई प्रणाली, डाईभर्सन, सतह सिंचाई प्रणालीको विकास र आधुनिकिकरण, बबई करिडोर तथा अन्य स्थानमा लिफ्ट सिंचाई लगायतका कामहरु भइरहेको जानकारी दिए ।
आयोजनाले हालसम्म तुलसीपुर, घोराही, शान्तिनगर र दंगीशरणमा गरि १४ वटा त्यस्ता जलाशय निमार्णको काम गरिरहेको छ ।
त्यो बाहेक थप ३० वटा जलाशय निमार्णको लागि पहिचान गरिएको छ । ती सबै जलाशय निर्माण कार्य पुरा भए जिल्लाको एक हजार ९२ हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुग्ने अनुमान गरिएको छ ।
हालसम्म बबई करिडोर अन्तर्गत विभिन्न २६ वटा लिफ्ट सिंचाई निमार्ण गरिएका छन् । थप २० वटा लिफ्ट निमार्णधिन अवस्थामा छन । करिब १८ वटा लिफ्ट सिंचाई प्रणालीको डिपिआर तयार भइरहेको छ ।
भुमिगत सिंचाई तर्फ २५ वटा डीप ट्युबवेलको निमार्ण कार्य अन्तिम चरणमा रहेको आयोजना प्रमुख आचार्यले बताए । उनका अनुसार थप १७ वटा डीप ट्युबवेलको टेन्डर आहन भएको छ ।
त्यस्तै शारदा डाइभर्सनको पुर्व सम्भाव्यता अध्ययन, ग्वारखोला उच्च बाँधको पुर्व सम्भाव्यता अध्ययन पुरा भइसकेको छ ।
माडी दाङ डाइभर्सन सम्बन्धी अध्ययन विभागबाट काम भइरहेको छ । उरहरी,जसपुर र डुरुवा सिंचाई प्रणालीको निमार्ण कार्य सुरु भएको प्रमुख आचार्यले जानकारी दिए ।
कार्यालयले हालसम्म ३३ वटा सिंचाई प्रणालीको विकास गरेको छ ।
आयोजनाले मंगलवार तुलसीपुर र घोराहीमा निर्माणाधिन जलाशय र लिफ्ट सिंचाई आयोजनाहरुको पत्रकारहरुलाई देखाएको छ । तुलसीपुर १८ मा रहेको दुधेगजेरी जलाशयको हालसम्म ३० प्रतिशत काम पुरा भएको छ ।
तुलसीपुर १८ कै पृर्थली जलाशय, घोराही २ र ४ को सिामानामा पर्ने सरेसोता जलाशयमा पानीको आउटलेट, लिफ्ट सिष्टम तथा ड्यामको कामहरु भइरहेको छ ।
घोराही २ को चेपेमा उपमहानगरपालिकाले निर्माण गरेको जलाशयमा लिफ्ट सिचाई आयोजना निर्माण कार्य पुरा भएपनि अब बिद्युतिकरण गर्न बाँकी छ । त्यसको लागि टेन्डर आह्वान भइसकेको छ ।
त्यस्तै तुलसीपुर १४ भोजपुरमा सोलार लिफ्ट सिंचाई आयोजना निर्माण सम्पन्न भएको छ । जहाँ बबई नदीको पानी लिफ्टिङ गरि भोजपुरको गनारीमा सिंचाई गरिन्छ ।
बह्रैमास आफ्नो खेतबारीमा सिंचाई हुने थालेपछि स्थानीय किसान उत्साहित बनेका छन् ।
अहिलेसम्म ३ हजार हेक्टर सिंचाई सुविधाका लागि ४८ करोड ६१ लाख रूपैंया खर्च भइसकेको बृहत दाङ उपत्यका सिंचाई आयोजनाका सुचना अधिकारी शान्तराज गौतमले जानकारी दिए ।
उनका अनुसार १० वर्षको कार्ययोजना सहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।