मेरो नाम सम्झना बुढाथोकी हो ।मेरो घर कर्णाली प्रदेशको त्रिबेणी गाँउपालिका वार्ड नम्बर १ सल्यान तल्लो काभ्रामा पर्छ । पेशाले म अहिले पशु प्राबिधिक हुँ । काभ्राकै रामबजारमा सानो एग्रोभेट पसल पनि संचालनमा ल्याएको छु । मेरो घरमा मेरा आमा बुवा २ वटा बहिनी मध्ये एउटीको बिहे भयो र एउटा भाई छ । हाम्रो परिवार सानो परिवार छ।
पहाड त्यहिमाथि अनेकौ सुबिधाहरुले बिकट मानिने हाम्रो काभ्रामा बिस्तारै बिकास हुदैछ । तरपनि वर्षाको समयमा खोला उर्लेर आउदा सल्यान लुहाम बजारसम्म आवत जावात बन्द हुन पुग्छ ।किनकी पुल बन्नै बाकी छ । बाटो उस्तै अप्ठ्यारो छ । बैकं छैन् । अल्लि ठूलो स्वास्थ्य समस्या भयो भने हामीलाई धाउनुपर्ने भनेकै श्रीनगर सल्यान वा नेपालगंज नै हो । हाम्रो क्षेत्रमा सामान्य केही मेडिकल र सरकारी सेवा सुविधाको स्वास्थ्यचौकी मात्रै छ ।
प्लसटु सम्म पढ्न नमुना बिद्यालय पनि अहिले संचालनमा रहेको छ । सुरक्षाका लागि प्रहरी चौकी पनि छ। तरपनि मान्छेले हरेक कुरासँग सम्झौता गर्दै बाच्नुपर्ने रहेछ । अब सुर्खेत जाने बाटो कंक्रिट हुने चर्चा छ ।
त्यो बाटो निर्माण भए हाम्रो सल्यानको काभ्रा बजार फस्टाउने छ । अनि यहाँका नागरिकहरुले पनि हरेक सुख सुबिधा उपभोग गर्न पाउथे कि ? भन्ने आशा छ । हाम्रो क्षेत्रमा पढे लेखेका जनशक्तिहरु जत्ति प्राय काठमाडौ कि त बिदेश नै जाने गरेका छन् ।
प्लसटु भन्दा माथिका जनशक्तिहरु प्राय पाउन मुस्किल रहेको छ । हाम्रो काभ्रामा प्राय घर परिवारको जिबिकोपार्जनको बाटो भनेकै खेतिपाति र पशुपालन ब्यावसाय रहको छ ।
हाम्रो क्षेत्रमा बिभिन्न संघ संस्थाहरुले पनि कृषिका क्षेत्रमा चासो दिएर समुह बनाएर काम गरेका छन् । यस्ले गर्दापनि ब्यावसायिक कृषि खेतितर्फ अधिकांश घरपरिवारहरु लालायित भएका छन्।किसानले भरिभराउ रहेको हाम्रो काभ्रामा आजभोलि ब्यावसायिकरुपमा पशुपालन,तरकारी खेति,माछापालन तथा कुखुरापालन गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ।
ऋाफ्नो गाँउ ठाँउ सबैलाई प्यारो नै लाग्छ । आफनो गाँउलाई राम्रो बनाउन सबैले आफनो क्षेत्रबाट गर्नसक्ने कामहरु गर्न जरुरीपनि छ ।मलाई पनि मेरो गाँउ छिटो बिकसित भए हुन्थ्यो भन्ने लाग्छ ।
म आफैले पनि मेरो सिप र क्षमताले भ्याएसम्म आफनो क्षेत्रका पशुबस्तुहरुको औषधो उपचार गरेर भएपनि हाम्रो क्षेत्रका घरपरिवारको आयआर्जन बढाउने सवालमा सघाउ पुर्याउदै आएकी छु ।मैले अघिपनि भने म पेशाले पशु प्राविधिक,त्यसैले पशुहरुको सेवा सुबिधाका लागि उकाली ओराली गर्दै प्रत्येकका घर घर पुगेर आफुले सक्दो सेवा सुविधा दिने गरेको छु ।
यो क्षेत्रमा पशु प्राविधिक भएर काम गर्ने महिलाको हकमा म पहिलो महिला हु ।सुरुमा काम गर्न गाह्रो थियो । समुदायले केटी मान्छेले कसरी काम गर्छे ? भनेर पत्त्ताउनु हुदैन् थियो । यस्ले बनाएको खसी बिग्रन्छ कि ? भन्ने शंका गर्नुहुन्थयो । पढेको त मैले भेटरेनरी सम्बन्धी नै थियो । तरपनि म महिला भएकै हिसाबले होला मेरो काममा प्रश्न चिन्ह् लाग्थ्यो । शंका हुन्थ्यो ।
तर मलाई यस क्षेत्रमा रहेका दिदी बहिनीहरुले आफन्तहरुले शुरुमा बिश्वास गरेर काम दिनुभयो ।त्यसपछि अहिले मेरो काममा सबैलाई बिश्वास छ । अहिले आफनो गाँउभन्दा बाहिरकाले समेत फोन गरेर बोलाउनुहुन्छ ।
आजभोलि गाँउपालिका तथा वडाका पशु कार्यालय बाट केही कार्यक्रमहरु हुन थालेपछि पनि मलाई समावेश गराउनुहुन्छ । यो भन्दा ठूलो उपलब्धी मेरा लागि अरु के नै हुनसक्छ र ?मैले २०७३सालमा पशु प्राविधिक १५ महिने कोर्ष कोहलपुरबाट पास गरेको हुँ ।
हुन त म ल्याव पढ्न चाहन्थे । मान्छेकै रगत,दिशा पिसाब चेक गर्ने काम गर्न चाहन्थे, तर कोटा सक्किसकेकाले त्यो पढ्न सकिएन ।
फेरिपनि पढ्न चाही टेक्निकल बिषय नै पढ्नुपर्छ भन्ने मेरो आफनो रोजाईको बिषय थियो ।किनकि छिटो पढेर आफु सक्षम भएर आयस्रोतको बाटो बनाउन सकु भन्ने नै थियो । किनकी घरभरी पढ्ने भाइबहिनिहरु थिए । अनि कमाउने कोही थिएन । हाम्रो आयस्रोतको बाटो भनेकै खेतिपाति मात्रै थियो ।
म घरकी जेठी छोरी । त्यसकारण पनि म बुवा आमाको काधको भारीलाई थोरै भएपनि सघाउने बिसाउने माध्यम छिटोभन्दा छिटो बन्न चाहन्थे । त्यसैले पनि मेरो मामाको सहयोगमा मेरो रोजाईको बिषय बनेको हो ।
प्राबिधिक शिक्षा,अहिले मेरो सानो भाईले पनि टेक्निकल लाईन नै पढदैछ । सानी बहिनी पनि पढदैछे । अर्की बहिनीको बिहे भयो। थोरै भएपनि बुवा आमाको काधको भारी बिसाउने चौतारी बनेको छु, जस्तो लाग्छ। यो कुराले मलाई खुसी दिन्छ । म सँगै पढेका धेरै साथिहरुको अहिले काखभरी छोराछोरी छन् । तर मेरो काँधमा गाँउघरलाई पशुकै क्षेत्रमा आयआर्जन गर्न कसरी अब्बल बनाउने भन्ने जिम्मेवारी झनै थपिएको छ।
हिजोका दिनमा बिरामी भएर धेरै पशु चौपायाहरु मर्थे । तर आजभोलि मैले जानेबुझेसम्मको सेवा सुबिधा दिनरात नभनेरै घरघर पुगेर दिने गरेको छु । पशुको उपचार तथा स्याहारले पनि अहिले कमै पशुहरु मर्ने गरेका छन्।
हाम्रो क्षेत्रमा बाख्रा तथा खसी बोकाहरु मनग्य उत्पादन हुन्छन् । त्यसैले पनि अहिले उपचारको लागि म सहित यही क्षेत्रमा रहेको दुर्गाभवानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा एकजना पशु प्राविधिक हुनुहन्छ ।
वडा तथा आवश्यक परेको खण्डमा गाउँपािलका बाट समेत सरहरु आउनुहुन्छ । तर हाम्रो क्षेत्रमा कृषकहरुको आम्दानीलाई बढाउन र उहाँहरुलाई ब्यावसायिक रुपमा अगाडि बढाउन पशु बिमाको अत्ति नै आवश्यक्ता रहेको छ। त्यत्तिमात्रै नभई गाँउपालिका वा वडाबाट भएपनि अझै एक पटक बाख्रापालन सम्बन्धि तालिम उपलब्ध भए झनै राम्रो हुनेथियो भन्ने लाग्छ।
पशुहरुलाई भ्याक्सिन दिनु, खसी बनाउनु र उनीहरुको स्वास्थ्य सम्बन्धी सेवा सुबिधा उपलब्ध गराउनु काम त जोखिमपुर्ण नै छ ।
तरपनि आजभोलि यस्मै रमाईलो लाग् छ । यहि पेशा अपनाएर मैले दुईचार पैसा कमाउने सक्ने भएकी छु । अधिकांश कृषकहरु उद्यमी बन्न अग्रसर हुनुभएको छ।
यो भन्दा ठूलो खुसी र उपलब्धी अरु के नै हुन सक्छ र ? फेरि गत वर्षलाई हेर्ने हो भने कोरोनाका कारण देशमा लकडाउन भयो । हरेक कुराहरु बन्द भए । कत्तिपए प्राईभेट कम्पनी तथा कार्यालयहरुमा काम गर्नेहरुको त जागिर पनि गयो ।
तर कृषि पेशामा आवद्ध दाजुभाईहरुलाई लकडाउनले खासै असर गर्न सकेन । त्यसकारण कृषि पेशाले व्यक्ति स्वएंको मात्रै हैन पुरै देशको आर्थिक मेरुदण्ड समेत मजदुबत बनाउने गर्छ ।
प्रस्तुती – पत्रकार पार्वती बस्नेत, दाङ ।