२०८१ जेष्ठ १५ गते मङ्गलवार

वर्षेनी बढ्दै आगलागीका घट्ना : सावधानी कमजोर, व्यवस्थापन पनि कमजोर

दाङ, चैत १५ । गएको फागुनको १६ र २० गते राजपुर गाउँपालिकाको वडा नं. १ सुकौली र बरुवा नाकामा आगलागीबाट दुई घर पूर्णरुपमा जले । चार दिनको फरकमा एउटै वडाका दुई घरमा आगलागी हुँदा उनीहरुले घरमा भएका अन्नपात, लत्ताकपडासँगै पैसा समेत गुमाए । अहिले दुवै परिवार आफन्तीको घरमा बस्दै आएका छन् । आगलागीबाट विकट नाकामा घरबारविहीन भएका उनीहरुले विभिन्न सहयोगदाताहरुले दिएको सहयोगबाटै जीविका चलाउँदै आएका छन् ।

चैत २ गते देउखुरीको लमही नगरपालिका–६ ढिकपुरमा आगलागी भयो । विद्युत तार सर्ट भएर आगलागी हुँदा ढिकपुरमा ६ परिवार घरवारविहीन बन्न पुगे । विद्युत तार सर्ट भएर आगलागी हुँदा स्थानीय बलिराम चौधरी, रेशमबहादुर बुढा, प्रेम चौधरी, दिनेश चौधरी र सर्जु चौधरीको घर जलेर नष्ट भए । आगलागीपछि उनीहरु पनि आफन्तीको शरणमा बस्दै आएका छन् । आगलागीबाट १६ लाख बढीको क्षति भएको थियो ।

यसैगरी पछिल्लो पटक चैतको ८ गते घोराही उपमहानगरपालिका २ चाक्लीघाटमा आगलागी हुँदा ६ वटा घर र गोठहरु जलेर नष्ट भए । आगलागीबाट रत्नबहादुर वली, कली वली र सुन्दर वलीलगायतका घर र गोठहरुमा आगलागी भयो । आगलागीबाट घर, गोठ, शौचालयसँगै पशुचौपायाको समेत मृत्यु भएको थियो । जसमा ५० हजार बराबरको क्षति भएको प्रहरीसँग तथ्याङ्क छ ।

यी आगलागीका पछिल्ला उदाहरणहरु हुन् । गर्मी याम सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा आगलागीका घटनाहरु बढ्न थालेका छन् । हिउँदको समयमा मानवीय लापरवाहीसँगै चिसोपनाको कमीका कारण आगलागीका घटनाहरु बढ्न थालेका छन् । लागलागीबाट लाखौँ रुपैयाँको क्षति व्यहोर्नु परेको छ भने पीडितहरु घरवारविहीन बन्न पुगेका छन् ।

लागलागी नियन्त्रण तथा न्यूनीकरणका लागि सर्वप्रथम सचेत हुनु भनेको जनता नै हो । त्यसका लागि स्थानीय सरकारले खास्सै ध्यान दिन सकेको पाइएको छैन । सरकारले अग्निपीडितलाई तत्कालका लागि सहयोगभन्दा अरु केही गर्न नसकेको पीडितहरुको गुनासो छ । तर पछिल्लो समय घरहरुसँगै वनजंगलमा समेत आगलागनीका घट्नाहरु दिनानुदिन बढ्दै गइरहेको छ । जसका कारण लाखौँको क्षति भइरहेको छ ।

आगलागीका धेरै घटनाहरु कमजोर सावधानीका कारण भएको पाइएको छ भने बस्तीमै फैलने गरी हुने आगजनीको अवस्था रोकथाम गर्न स्थानीय पालिकाको व्यवस्थापकीय पक्ष पनि कमजोर भएको स्पष्ट देखिएको छ । देउखुरीका स्थानीयबासी तथा समाजसेवी शोभाराम पौडेल भन्छन्– ‘अधिकांश विपन्न समुदायका बस्तीहरुमा घरहरु एकै स्थानमा बाक्लो गरी निर्माण गरिएका हुन्छन्, एक घरदेखि अर्को घरको दूरी करिब–करिब जोडिएको हुन्छ, बाक्लो बस्तीका ती घरहरु प्रायः खरले छाएका हुन्छन्, जसका कारण क्षणभरमै आगो बस्ती सखापै पार्ने गरी फैलन्छ ।’

यसैगरी अर्को समस्या भनेको बाक्लो बस्तीका गल्लीमा आगो निभाउने दम्कल पुग्न पनि असहज अवस्थाका कारण पनि आगजनी तत्काल नियन्त्रणमा लिन समस्या देखिएको उनको बुझाइ छ । दँकल पनि खोजेको अवस्थामा सहजै उपलव्ध हुन नसक्नु अर्को दुःखद पक्ष हो । वर्षेनी हुने आगजनीबाट जिल्लामा करोडौँ रुपैयाँ बराबरको धनमाल तथा केहीको निधन समेत हुने गरेको छ । अधिकांश आगलागी फुस र खरका घरहरुमा भइरहने अवस्थामा स्थानीय पालिका तथा संघीय तथा प्रदेश सांसदहरुले आफ्ना चुनावी नारामा खरका छाना एक वर्षभित्र विस्थापित गरी टिन लगाउने पनि उल्लेख गरेका थिए ।

तर देउखुरीको लमही बजारमै अझैसम्म खरका छाना पूर्ण रुपमा विस्थापित हुन नसक्नु दुर्भाग्यको अवस्था रहेको स्थानीयबासीले बताएका छन् । यद्यपि पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाका अधिकांश बस्ती भने खरको छानामुक्त भइसकेको उपमहानगरपालिकाको दाबी रहेको छ । ‘हामीले करिब करिब ९५ प्रतिशतभन्दा बढी बस्तीलाई खरको छानामुक्त बनाइसकेका छौँ, बाँकी बस्तीमा पनि यही आर्थिक वर्षमा सबै घर खरको छानामुक्त हुने छन्’—तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने ।

त्यस्तै घोराही उपमहानगरपालिका लगायत अन्य स्थानीय गाउँपालिकाहरुले पनि वर्षेनी आ–आफ्नो क्षेत्रमा क्रमिक रुपमा खरको छानामुक्त बनाउने अभियान थालेका छन् । तर सबै पालिका अझै पनि खरको छानामुक्त बन्न सकेका छैनन् ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *