तुलसीपुर,चैत ९ ।‘समृद्ध तुलसीपुर ः सबैका लागि,सधैका लागि भन्ने’ मुल नाराका साथ तुलसीपुर उपमहानगरपालिकाले दीर्घकालीन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा तयार पारेको छ । योजना निर्माणका सहजकर्ता विकिरण गौतमले आगामी ५ वर्ष सम्म गर्न सक्ने योजनाका बारेमा कार्यक्रममा जानकारी दिए ।
तुलसीपुका १९ वटै वडाबाट आर्थिक,सामाजिक, भौतिक,संस्थागत,वन वातारण तथा विपद् लगाएतका विषयमा छलफल गरेर गौरबका योजनाहरु संकलन गरेको गौतमले बताए । ती योजनाको ५ वर्ष पछि समिक्षा गरिने गौतमले बताए । योजनामा १९ वटै वडाको भूगोल समेटिने छ । त्यस्तै जनसंख्या लिंग अनुसार योजनाका कुरा समेटिएको छ ।
उनले आर्थिक विकास तर्फ हाल तुलसीपुुरमा ८० प्रतिशत जनता कुनै न कुनै रुपमा कृर्षिमा आत्मनिर्भर रहेको बताए । त्यस्तै १ सय ७२.१२ वर्ग किमि खेति योग्य जमिन रहेको र त्यस मध्ये ६६ हेक्टर जमिनमा घाँस खेति हुने तथ्याङ्क उनले प्रस्तुत गरे ।
बृहत दाङ सिंचाई आयोजना मार्फत अहिले २५ वटा पक्कि कुलोहरु निमार्ण चरणमै रहेको जानकारी दिइएको छ । सामाजिक विकास तर्फ उपमहानगरपालिकामा अहिले पनि ९७ प्रतिशत जनता साक्षर रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ । १९ वटा खानेपानी आयोजना सञ्चालित रहेको र त्यसका लागि नगरस्तरिय खानेपानी सरसफाई तथा स्वच्छता गठन गरिएको जानकारी दिइएको छ ।
त्यस्तै तथ्याङ्कमा नगरमा हिंसाको घटना घट्दो क्रममा रहेको उल्लेख गरिएको छ । तुलसीपुरमा हाल १ सय ५० किलोमिटर पक्की सडक रहेको र त्यसलाई बढाएर ५ वर्षमा ५ सय किलोमिटर बनाउने लक्ष्य लिइएको गौतलमले बताए । वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ अहिले तुलसीपुरमा कुल भूभाग ३६.९२ प्रतिशत अर्थात, १४५.८० वर्ग किमी वन क्षेत्र रहेको छ ।
हाल बेरोजगारको दर ६.१६ प्रतिशत रहेको छ भने ५ वर्षमा २ प्रतिशतमा घट्ने दाबी गरिएको छ । ती सबै योजनाका आगि आगामी वर्षमा १५ अर्व ९४ करोड ५० लाख बढी रकम बिनियोजन गरिने छ ।कार्यक्रममा योजना निमार्णका सहजकर्ता दुर्गालाल केसीले तुलसीपुरको आगामी २५ वर्ष सम्मको रणनीतिक योजनाको बारे अबगत गराएका थिए ।
उनले दिर्घकालिन योजना निमार्णका लागि विभिन्न सरोकारवालाहरुसगं छलफल गरिएको र सोही अनुसार २५ वर्षसम्मको दुरदृष्टी तयार पारिएको बताए । जसमा २५ वर्षमा तुलसीपुरलाई खरको छानामुक्त नगर बनाउने, सडक र यातयातमा सबैको पँहुच,प्रविधिक शिक्षाको गन्तव्य तुलसीपुर बनाउने, मोतिबिन्दु मुक्त नगर,कृर्षिक्रान्ति, स्मार्ट सहर, सुरक्षित तथा मानव संवेदनशिल सहर बनाउने, स्वस्थ शिक्षित सहर, विकाशमा सहकार्य र सञ्जाल बृद्धि, जिवन्त सहर लगाएतका योजनाहरुको परिकल्पना गरिएको छ ।
२५ वर्षमा २५ गौरवका योजनाहरु बनाइने र त्यसमा कार्यक्रम अनुसार बजेट बिनियोजन गरिने उल्लेख छ । २५ वर्षमा २ खर्व ५० अर्व बजेटको अनुमान गरिएको छ ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाविद् शिशिर खनालले २५ वर्ष पछिको परिकल्पना परम्परावादी सोच हावी भएको महसुस गरेको भन्दै रणनीतिक योजनालाई सबै नागरिकले अपनत्तो महसुस गर्ने खालको बनाउन सुझाव दिए ।