तुलसीपुर,माघ २६ ।संविधानमा सबै नागरिकलाई समान अधिकार दिने नीति लागू गरे पनि त्यो कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) दाङको आयोजना तथा बबई गाउँपालिकाको सहयोगमा सोमबार बबई गाउँपालिकाको सभाहलमा भएको ‘ग्रामिण महिला सशक्तिकरणका लागि स्थानीय तह र सञ्चारकर्मी महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपप्रमुख सावित्रा विश्वकर्माले महिला र पुरुषबीचको विभेदकारी मानसिकता र व्यवहार अझैपनि परिवर्तन हुन नसकेको बताइन ।
उनले महिला जनप्रतिनिधिहरुलाई घर परिवारमा दिने खालको जिम्मेवारी मात्रै स्थानीय सरकारमा दिइएको हुँदा महिलाहरु उल्झनमा परेको बताइन ।जबसम्म मानविय चेतनाको विकास हुँदैन तबसम्म भौतिक विकाशको कुनै अर्थ नहुने हुँदा महिला शिक्षामा जोड दिइन ।
महिला सशक्तिकरणका लागि वडा–वडामा मदिरा नियन्त्रण कार्यक्रम ,महिलाहरूलाई आर्थिक रुपमा माथि उठाउन विभिन्न सीप मुलक तालिमहरु दिन जरुरी रहेको उनले बताइन ।
कार्यक्रममा बबई २ की सदस्य मञ्जु वलीले स्थानीय सरकारले जनप्रतिनिधि महिलाहरुलाई कोटा पुर्याउनको लागि मात्र सहभागि गराउने गरेको गुनासो गरेकी हुन ।
‘महिला भएकै कारण हामीलाई हरेक कुरामा पछि पारिएको छ । हामीले चाहेरपनि केही गर्न नसकिरहेको अवस्था छ,’ उनले भनिन्,–‘के हामी महिलाहरु कोटा पुर्याउको लागि मात्र हो त ? कोटा मात्रै हैन हामीले क्षमता अनुसार अबसर पाउनु पर्छ ।’
पीडित महिलाहरुको विवाद मिलाउन खोज्दा समेत मार्ने धम्की आउने गरेको र यसले गर्दापनि आफुहरु पछि हट्न बाध्य हुनुपरेको उनले गुनासो गरिन ।
बबई ६ की सदस्य इन्द्रा अधिकारीले आफ्नो काम,कर्तव्य र अधिकार थाहा पाउन नसक्दा पनि महिला आफै पछिपर्न पुगेको स्वीकार गरिन । ‘वडाहरुमा जति पनि योजना छन् ति सबैमा महिलाहरुको नाम राखिन्छ,’ उनले भनिन् ‘तर काम गर्ने बेला पुरुषहरु मात्र जाने गर्छन । महिलालाई त्यहाँपनि बिभेद गरिन्छ ।’
बबई ४ की सदस्य गौरी बोहोरा र वडा ३ की सदस्य सरस्वती नेपालीले बजेट,योजना बाँडफाँडको क्रममा समिति गठन गर्दा महिला सहभागिता कम मात्रामा गराउने गरेको गुनासो गरे ।
क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि क्रियाशिल महिला पत्रकार (डब्लु डब्लुजे) दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतमले आधारपत्र प्रस्तुत गरेकी थिइन ।
संविधानले सबै नागरिकको अधिकारलाई समान रुपमा ब्याख्या गरेपनि अझैपनि त्यो कुरा महिलाका हकमा सार्थक हुन् नसकेको उनले बताइन ।
आफ्नो काम,कर्तव्य र जिम्मेवारी अभिमुखिकरण गर्न संवैधानिक तथा कानुनी प्रावधानहरुको बारेमा जानकारी दिन,असल अभ्यासहरुको बारेमा जान्ने,बुझ्ने र बुझाउन सीप तथा सञ्चार विधिकबारे ज्ञान बृद्धि र कार्यान्यन गर्न स्थानीय सरकारले स्थानीय सञ्चार,माध्यम तथा तीनमा काम गर्ने महिला पत्रकारहरुसगं समन्वय गर्न जरुरी रहेको गौतमले बताइन ।
कार्यक्रममा गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख स्वरा रावतले गाउँपालिकामा रहेका समस्या समाधानका लागि आफुहरु लागिपरेको बताइन ।
बबई गाउँपालिका अन्तर पार्टी महिला सञ्जालका प्रमुख दीपा केसीले लैगिक हिंसाको कार्यक्रमहरु गरिरहदा अझै पनि समाजमा पुरुषको पितृसत्तात्मक सोच नहटेको गुनासो गरिन ।
कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्चालनमा आएको सेफ हाउस समितिकी व्यवस्थापक करिष्मा विश्वकर्मा, सहभागि तारा भण्डारी,नेपाली कांग्रेसकी नेतृ अन्जु घर्ती हिंसा पीडित महिला ललिता सुनार लगाएतले आ–आफ्ना धारणा राखेका थिए ।
क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) दाङका सल्लाहाकार सन्ध्या रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन सदस्य देवी भण्डारीले गरेकी हुन भने कार्यक्रमको सहजिकरण सचिव सर्मिला डिसीले गरेकी हुन ।