२०८१ बैशाख ७ गते शुक्रवार

भूकम्पले भन्दा कमजोर संरचनाले जनधनको क्षति गर्छ – अध्यक्ष सेन


सल्यान, माघ २ । सल्यान कपुरकोटमा आयोजित एक कार्यक्रमका सहभागीहरुले भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सामूहिक प्रतिबद्धता जनाएका छन् । २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा कपुरकोट गाउँपालिकाले शुक्रबार आयोजना गरेको भूकम्प सुरक्षा सचेतना कार्यक्रमका सहभागीहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले भूकम्पीय जोखिमबाट सुरक्षित हुने उपायहरु सिक्ने, परिवारका सबै सदस्यहरुलाई पनि त्यो सिकाउने, घर भूकम्प प्रतिरोधी निर्माण गर्ने र आफ्नो समुदायमा भूकम्पिय जोखिम न्यूनिकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्ने प्रतिबद्धातामा सहभागीहरुले हस्ताक्षर गरेको जानकारी दिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेनले भूकम्प सुरक्षाका बारेमा तल्लो तहका नागरिक सम्म चेतना फैलाउन जरुरी रहेको बताए । उनले भने, ‘भूकम्पले नभई हाम्रा कमजोर संरचनाले जनधनको क्षति गर्ने गर्छन । तसर्थ, घर, सभागृह, मन्दिर, विद्यालयलगायत मानवनिर्मित संरचना भूकम्पप्रतिरोधी तथा बलियो बनाउन अत्यावश्यक छ ।’

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा अध्यक्षहरुको तर्फबाट वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, कपुरकोेट वहुमुखी क्याम्पसका प्रमुख रुपलाल यरी, नेरामावि किमुचौरका प्रधानाध्यापक सिट्टीसाप विष्ट, कालिका माविका प्रधानाध्यापक चुडामणी केसी, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, निर्माण ब्यवशायीको तर्फबाट रुपक बुढा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

हरेक वर्ष माघ २ गतलाई भूकम्प दिवसका रुपमा मनाउने गरिन्छ । बिक्रम संवत १९९० माघ २ गते नेपालमा विनाशकारी भूकम्प गएको हुँदा त्यसैको संझनामा भूकम्प दिवस मनाउँदै आइएको छ ।

प्रकाशित मिति : २०७७ माघ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *