शंकर के.सी.
सल्यान, २२ मंसिर ।
सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला, संस्कृति संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम गरेको छ । शनिबार पवित्र धार्मिकस्थल त्रिवेणी तीर्थशाला धामको प्राङ्गणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । साथै उनीहरुले उहिलेको जमानाको याद पनि दिलाए । कार्यक्रममा त्रिवेणीका ६ वटै वडाबाट १५ वटा समूहले पैस्यारु, सोरठी र बनगाडी टप्पा नाच प्रस्तुत गरेका छन् ।
त्रिवेणी–३ को पैस्यारु नृत्यको गुरु धनवीर ओलीले सयौँजनाको बीचमा आफ्नो गाउँको पुरानो नाच देखाउन पाउँदा खुशी व्यक्त गरे । उनले भनेका छन्, ‘पहिले–पहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडपर्वमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । हाम्रो संस्कृतिको मलाई निकै माया लाग्छ । तर पछाडिका सन्तानले यो कला संस्कृति चटक्कै विर्सने हुन् की भनेर चिन्ता लाग्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले मौलिक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँ–ठाउँका मौलिक संस्कृति संरक्षणतर्फ सबैलाई जागरुक बनाएको बताए । यस्तै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले कला संस्कृतिमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ति र पहिचान भएकाले यसलाई दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाई नै पर्यटक भित्र्याउने र आर्थिक उन्नतीको माध्यम बनाउनुपर्ने धारणा राखे ।
गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले आफूहरुले कुन वडामा कस्ता मौलिक संस्कृति रहेछन् भनेर यो पटक कार्यक्रम राखेको बताउँदै मौलिक संस्कृति संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मन्तव्य राख्दै एक दर्जन बढी समूहलाई बोलाएर मौलिक नृत्य सम्मेलन गर्न सफल भएको भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए ।
पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा नेपाली सेना सिमखर्क व्यारेकका गुल्मपती रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, सशस्त्र प्रहरी सल्यान जिल्ला प्रमुख विमल डाँगी, त्रिवेणीका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, ६ वटै वडाका वडा अध्यक्षहरु, पत्रकारलगायतको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए । कार्यक्रममा सहभागी भएका हरेक समूहलाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।
सोरठीको लागि त्रिवेणीको पिमखोला उद्गम थलो मानिन्छ । यहिबाट सल्यानभर सोरठी फैलिएको बताइन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।
यस्तै लहरे नाचले पनि परिचित पैस्यारु नाचमा सबैजना गोलो घेरामा नाच्ने गर्दछन् । मगर भाषाको पैस्यारुको अर्थ केलाउँदा पै भनेको काठको कोसीको बिट र स्यारुको अर्थ नचारु भन्ने हुन्छ । यसरी काठको कोसीको बिटजस्तै गोलो आकारमा नाच्ने भएकाले यसलाई पैस्यारु नाच भन्ने गरिएको यस सम्बन्धी जानकारहरुले बताउने गर्छन् । कतै–कतै लहरे नाचलाई ढिकुरे नाच पनि भन्ने गरेको पाइन्छ ।