भदौ १७ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै किसिमका निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।
त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।
प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार