
सल्यान, भदौ १७ ।सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृति अक्षयकोष स्थापना भएको छ ।त्रिवेणी ६ लुहाम बजार निवासी स्वर्गीय ध्रुव प्रसाद श्रेष्ठको बार्षिकीको अवसरमा परिवारका सदस्यले उनको स्मृति स्वरुप तीन लाख रुपैंयाको गाउँपालिका स्तरिय अक्षयकोष स्थापना गरेका हुन् । समाजसेवी स्वर्गीय ध्रुव श्रेष्ठकी श्रीमती रेमु श्रेष्ठ, छोरा बुहारीहरु डाइमण्ड श्रेष्ठ, झुला श्रेष्ठ, प्रभात कुमार श्रेष्ठ, कल्पना श्रेष्ठ, प्रियवत्र श्रेष्ठ, मनिसा श्रेष्ठ, छोरी ज्वाई उपासना पुन, कीर्तिबहादुर पुनले कोष स्थापना गरेका हुन् ।
छात्रवृति अक्षयकोष सञ्चालन कार्यविधि तयार पारेर राष्ट्रिय वाणिज्य बैंकमा बुधबार रकम जम्मा गरिएको जेठा छोरा डाइमण्ड श्रेष्ठले बताए । उक्त रकमको ब्याजबाट आउने रकमबाट हरेक वर्ष त्रिवेणी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कक्षा ५ मा उत्कृष्ट अंक ल्याउने एक जना छात्रा, एक जना छात्र र विपन्न एक जना गरी तीन जनालाई छात्रवृति प्रदान गरिने भएको छ । ‘स्वर्गीय बुवा ध्रुव श्रेष्ठको वार्षिक पुन्यतिथि भाद्र शुक्ल चतुर्दशिका दिन परिवारको तर्फवाट छात्रवृति प्रदान गर्नेगरी कोष स्थापना गरेका हौँ,’ माइला छोरा प्रभात श्रेष्ठले भने ।
छात्रवृति अक्षयकोष सञ्चालनका लागि रेमु श्रेष्ठको अध्यक्षतामा ५ सदस्य समितिपनि गठन गरिएको छ । जसको सदस्यमा त्रिवेणी गाउँकार्यपालिकाबाट तोकिएका एक जना प्रतिनिधि र शिक्षा शाखा प्रमुख रहेका छन् । ‘जेहेन्दार गरिव तथा विपन्न वर्गका वालवालिकालाई छात्रवृति मार्फत सानो भएपनि सहयोग पुगोस र उनीहरुलाई अध्यनमा थप हौसला मिलोस भन्ने हाम्रो उदेश्य हो,’ श्रीमती रेमु श्रेष्ठले भनिन् ‘ त्यसले असल र स्वाबलम्बि नागरिक उत्पादनमा टेवा पुगोस भन्ने चाहाना हो ।’नेपाली काँग्रेसका नेता लुहाम निवासी श्रेष्ठको २०७६ साल भदौ २६ गते ६७ बर्षको उमेरमा दाङको तुलसीपुरमा निधन भएको थियो ।
