तुलसीपुर, भदौ १० । कपिलबस्तु जिल्लाका एक महिलासहित तीन जना लागु औषध ब्राउन सुगरसहित दाङबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलबस्तुको शिवराज नगरपालिका वडा नं। २ निवासी ४० बर्षीय शालिकराम सारु मगर, सोही ठाउँकै ३३ बर्षीया पार्वती सारु र सोही ठाउँकै ३२ बर्षीय चन्द्रबहादुर बगाले मगर रहेका छन् ।
उनीहरुको साथवाट ३९ ग्राम लागु औषध बरामद भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार उनीहरुलाई भदौ ८ गते मध्यान्हः करिव साढे १२ बजेतिर लमही नगरपालिका वडा नं। ३ स्थित ड्रिमल्याण्ड होटेलबाट पक्राउ गरिएको हो ।
उक्त ब्राउन सुगर शालिकराम सारु मगरको कृत्रिम खुट्टाको घुडामुनी खोचमा प्लाष्टिकमा बेरेर लुकाई राखेको अवस्थामा फेला परेको डिएसपी खड्काले जानकारी दिए ।
बरामद ब्राउन सुगर चार वटा पोकामा फेला परेको खड्काले बताए ।
प्रहरीले उनीहरुले प्रयोग गरेको बा १२ च २११६ नम्वरको स्कापियो समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध लागु औषध विरुद्ध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले जानकारी दिएका छन् ।
जिल्ला अदालत दाङले पक्राउ परेका तीनै जना विरुद्ध अनुसन्धानका लागि १५ दिने म्याद प्रदान गरेको छ ।