२०८१ मङ्सिर २७ गते बिहिवार

विदेशवाट फर्केका युवाले गाउँको बाँझो जमिनमा खेति गर्न थाले


हेमराज शर्मा,
घोराही, बैशाख ३० । दाङको घोराही उपमहानगरपालिका वडा नं १ तेर्छेगाउँमा बँदेल र बाँदरले अन्नबाली खाएर सताएपछि खेति गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेति स्थानीयले शुरु गरेका छन् ।सुरुमा तेर्छे गाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ति थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातको खेति पाति पनि गर्दथे । तर रातमा जंगली जनावर बँदेल र बाँदरले उक्त खेति खाइदिएपछि किसानले त्यो स्याहार्नै पाएनन । त्यसपछि चारैतिरबाट जंगलले घेरेको उक्त पहाडी भिरालो बस्तिका अधिकाम्स स्थानीय किसान आफ्नो जिवनयापनका लागि पुरानो बस्ति तेर्छे गाउँलाई छोडेर तराइमा झरेका छन ।

गाउँले रोजगारीका लागि भारतसहित तेस्रो मूलक पुगे । कमाएको पैंसाले परिवार पाल्ने र बचेको पंैसाले तराइमा घर घडेरी र जग्गा समेत जोडे । तेर्छेगाउँमा जग्गा बाझै भयो । तर पछिल्लो समय फेरि उक्त बाँझो जग्गामा बेसार, अदुवा र पिडालु खेति स्थानीयले सुरु गरेका छन् । टेकन भण्डारी र बसन्त भण्डारीले करिव ५ बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेति गर्न सुरु गरेका छन् । ‘यो बर्षे पाँच बिगाहमा खेती गरेका छौं,’– टेकन भण्डारीले भने –‘आगामी बर्षमा गाउँमा कुनैपनि जमिन बाँझो छोड्ने छैनौं।’ उक्त गाउँमा अहिले ८ घरपरिवारको बसोबास छ । र १० बिगाहजति जग्गा बाँझै छ ।

लकडाउन पछि रोजगारीका लागि भारत गएका युवाहरु चैत महिनमा घर फर्किका छन । ‘लकडाउन कहिले सकिने हो थाह छैन, सकिएपनि तत्काल भारत जाने अवस्था छैन,’ सचिन खत्रीले भने–‘अव गाउँमै गोठ बनाउने हो, अनि ब्यावसायिक बाख्रा पालन गरेर बस्ने हो।’
भारतबाट फर्केका सहित स्थानीय १५ जनालाई दैनिक खाना खाएर ६ सय रुपैंया पारिश्रमिक दिएर अदुवा, बेसार र पिडालु खेतीमा लगाइएको टेकन भण्डारीले बताए । यो बर्ष भण्डारीले ६ क्विन्टल बेसार रोपेको बताए । अब ब्यबसायिक खेती गर्ने योजना उनले सुनाए । युवाहरुले यहाँ सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलो समेत बनाएर बेच्न थालेका छन् । जारमा सिस्नोको धुलोको राम्रो माग छ ।

बजार व्यवस्थापनमा सहकारीको सहयोग
स्थानीयले उत्पादन गरेका अग्र्यानिक अदुवा, बेसार, पिडालु र सिस्नोको धुलोको बजारीकरणमा घोराही स्थित सर्वोत्तम बहुउद्धेश्यिय सहकारी संस्थाले सहयोग गर्ने भएको छ । त्यसका लागि सहकारीले सहुलियत बजार सञ्चालनको तयारी गरेको छ । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा बजार सञ्चालन गर्न लागिएको जानकारी दिए ।

त्यसका लागि प्रदेश मन्त्रालय र सहकारीको बीचमा सम्झौता भइ सकेको छ ।संस्थाले एउटै छानामुनि दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलव्ध गराउने योजना बनाएको छ । कृषि उपजमा बिचौलियाहरुले लिने नाफाको ठूलो हिस्सा कम गरी सुपथ मूल्यमा उपभोक्तालाई सामाग्री उपलब्ध गराउने उद्देश्य रहेको पौडेलले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *