तुलसीपुर,बैशाख २६ । विद्युत कार्यालयको फोन हतपती उठिरहेको अवस्था छैन । अत्यावश्यक सञ्चार माध्यमहरु व्याकुल भइरहेका छन् । लकडाउनको अवस्थामा पनि काम गर्नुपर्ने बाध्यता भएका नागरिकहरु भने बत्तीको समस्या अत्यन्तै अनियमित हुँदा समस्यामा छन् । बत्तीको नियमितताको माग गर्न गएका स्थानीय सरकार प्रमुखलाई तुलसीपुर विद्युत कार्यालयकी कर्मचारीले भित्र पस्नसमेत अवरोध गरिन् । जनता विद्युत सेवाबाट व्याकुल भइरहँदा कुनै अचुक शक्तिको आडमा विद्युत कार्यालयमा नो–लाइटमा फोन उठाउनेदेखि गेटमा काम गर्ने कर्मचारीहरु समेत गैरजिम्मेवार देखिएका छन् ।
सरकारले बत्ती खपत गर भनिरहँदा तुलसीपुर क्षेत्रको विद्युत कार्यालयले भने यो र त्यो बहानामा उपभोक्ताहरुलाई विद्युत सेवाबाट बञ्चित गरिरहेको छ । यद्यपि नयाँ कार्यालय प्रमुखले भने हावाहुरी र झिंगटका हाङ्गा काट्नुपर्ने मात्रै समस्या देखाएका छन् । यो अभिव्यक्तिले आम तुलसीपुरबासीहरु विश्वस्त हुन सकेका छैनन् । स्थानीय सरकारका प्रतिनिधि तथा तुलसीपुरको मुटुमा रहेको वडा नं. ५ का अध्यक्ष बीरेन्द्रकुमार शाह विद्युत कार्यालयमा जाँदा समेत तुलसीपुर विद्युत कार्यालयले आधिकारिक अभिव्यक्ति दिएको छैन ।
उल्टो स्थानीय सरकारसँगै विद्युत कार्यालयका प्रमुखले अर्थपूर्ण अभिव्यक्ति नदिएर समस्या धेरै भएको मात्रै बताए । यसअघिको विद्युत आपूर्तिको नियमितताका विषयमा उनले बोल्न चाहेनन् । तुलसीपुर विद्युत कार्यालयको ल्याण्डलाइन फोन न हाकिमको उठ्छ, न त, नो–लाइटको । साँझ परेपछि सिरानीमा राखेका हुन्छन्, कर्मचारीले मोवाइल फोन ।
तुलसीपुर विद्युत कार्यालयले कार्यालय प्रमुखको अफिसियल नम्बरसमेत नदिएपछि काठमाडौंको विद्युत निर्देशनालयबाट उनको फोन मागिएको थियो । कार्यालय प्रमुखको नाम जगन्नाथ लामिछाने रहेछ, उनैलाइ फोन गरी संवाददाता सव–स्टेशनमा पुगेका थिए । ‘हाम्रा कारणले पाँच–पाँच मिनेटमा बत्ती गएको होइन, रुखका कारणले र हावाहुरीका कारणले’, सरल स्वभावका यी युवाले तीन महिनापछि पनि यही भन्नेछन्, जुन बेला हावाहुरी पनि आउने छैन, झिंगटका हाङ्गा पनि काटिएका हुनेछन् तर बत्ती फेरि गएको हुनेछ’, तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले भने– ‘यो विद्युत कार्यालयका अधिकारीको चल्तीको जवाफ हो ।
न बोलीचालीको स्वभाव, न आधिकारिक अभिव्यक्ति न त आवश्यकताका विषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्य र सहयोगको अपेक्षा । यस्तै भुमरीमा रहेका छन्, विद्युतका हाकिम । ‘बत्ती नियमितताका लागि ट्रान्सफर्मर किन्न र विद्युत पोल सार्न बजेट अभाव भएको होइन, कार्यक्रम अनुसार केन्द्रय कार्यालयले बजेट दिन्छ तर लकडाउनका कारण केही समस्या भएको छ’, गतिलो अभिव्यक्ति दिएर तुलसीपुर विद्युत कार्यालय प्रमुख लामिछाने पन्छिन खोजे । सँगै रहेका वडाध्यक्ष शाहले भने आवश्यक भए संघीय सरकारसँग बजेट मागेरै पनि बत्ती अनियमितताको समस्या हल गर्ने बताइरहेका थिए ।
पछिल्लो समयमा तुलसीपुर सेक्टरको विद्युत कार्यालय कार्यदिशामा अघि बढिरहेको अवस्थामा देखिएको छैन । पञ्चकुले हाइटेन्सनको लाइनलाई तुलसीपुरसम्म ल्याउने प्रक्रियामा पनि कार्यालय गुमनाम रहेको छ । तुलसीपुर उपमहानगरपालिकाकै सोनापुर सिमेन्टसँगै सल्यान र रुकुमलाई पनि हाइ भोल्टेजको विद्युत सेवा दिने भनिएको तुलसीपुर कार्यालय कार्यदिशा र योजनाविहीन बन्दा समस्यामा रहेको स्थानीय नागरिक अगुवाहरुले बताएका छन् । तुलसीपुर विद्युत कार्यालयको अकर्मण्यताकै कारण हापुरे सव–स्टेशनको विद्युत उपमहानगरपालिकामै आउन सकेको छैन । त्यसकै कारण दूधरासको सोनापुर सिमेन्ट कारखालाले पनि घोराहीको झिंगनीमा रहेको विद्युत सेवा उपभोग गर्दै आइरहेको छ ।
तुलसीपुर क्षेत्रमा विद्युत सेवा अनियमितता भइरहेको सवालमा विद्युत कार्यलयका अधिकारीहरु पहिल्यैदेखि गम्भीर देखिएका छैनन् । विद्युत कार्यालयलाई क्षेत्रीय निर्देशनालय नेपालगञ्जले नेतृत्व गरेको पनि देखिएको छ । यसमा ठेकेदार कर्मचारी र प्रतिनिधिहरुको समेत चलखेल भएको छ । पञ्चकुले सव–स्टेशनबाट विद्युतलाई तुलसीपुरसम्म ल्याउने सवालमा आवश्यक स्थानमा पोल गाड्ने सन्दर्भमा पनि माथिल्लो निकायले स्पष्ट दायरा दिएन । मनोमानी विद्युत पोल गाडिरहेको अवस्थामा अझै पनि नियमित विद्युत सेवा प्रवाहमा समस्या भइरहेको छ । जसका कारण स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासनलाई समेत विद्युत सेवा नियमितताका सवालमा असहज वातावरण सिर्जना भएको छ ।