२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा प्रदेश ५ कै पहिलो व्यवसायीक कालिज पालन


तुलसीपुर,फागुन २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ गरगरुवामा प्रदेश नं. ५ कै पहिलो व्यवसायीक कालिज पालन गरिएको छ । दाङ,बाँके र बर्दिया गरि तीन जिल्लाका युवाहरु मिलेर गत वर्षदेखि गरगरुवामा कालिजको व्यवसायीक पालन सुरु गरेका हुन ।

३२ बर्षीय बस्नेतले तीन जिल्लाका सात जना मिलेर गत वर्ष फागुनदेखि कालिजको व्यवसायिक पालन सुरु गरेको जानकारी दिए ।

तुलसीपुर १२ का युवराज केसी, कृष्ण बस्नेत र तुलसीराम बस्नेत, बाँकेका निर्मल नेपाल (शर्मा) र विरेन्द्र गिरी अनि बर्दियाका हेमराज पाण्डे र जनकनाथ योगीले मिलेर कालिज पालेका हुन । त्यसका लागि उनीहरुले हिमालयन वाईल्ड लाईभ एग्रो प्रालि दर्ता पनि गरेका छन् ।

बाँकेका गिरी र दाङका केसीका बीचमा पहिलेदेखि नै चिनजान थियो । गिरीले यूटुव हेरेर कालिज वारे ज्ञान लिएपछि कालिज पाल्ने योजना बनाएका थिए । त्यसपछि गिरी काठमान्डौंको दक्षिणकालीस्थित कालिज फार्म हेरेर आए । कालिज कसरी पाल्ने भन्ने जानकारी हासिल गरेपछि कालिज पाल्ने योजना बुने ।

नौंलो व्यवसाय हुनुका साथै त्यसमा राम्रो संभावना देखेपछि उनले दाङका केसीलाई त्यो कुरा भने । त्यसपछि दाङका केसी साथिहरु सहित बाँके पुगेर कुराकानी र छलफल गरे । अनि बर्दियाका साथिहरुलाई पनि त्यो कुरा भने । सबैको कुरा मिलेपछि गतसाल फागुनमा पोखरावाट बच्चा ल्याएर उनीहले जिल्लामा पहिलो पटक जंगली पंक्षि कालिजको व्यवसायीक पालन सुरु गरेका हुन । यद्यपी यो कालिज बेल्जिएमको हो । नेपाली होइन ।

पोखरामा कालिज पाल्ने व्यक्तिले पहिलो पटक बेल्जियम बस्दा कालिजका अण्डा ल्याएर नेपालमै ह्याचिङ गरेर कालिज पाल्न सुरु गरेका थिए । गत वर्ष फागुनमा उनीहरुले पोखरावाट प्रति बच्चा दुई हजारका दरले एक हजार बच्चा किनेर ल्याएका हुन ।

एक हजार बच्चा खरिद गर्दा २० लाख ५० हजार जति खर्च भएको बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार कालिजले एक सिजनमा मात्रै अण्डा पार्ने गर्छ । त्यो भनेको माघ फागुन महिनादेखि जेठ असार सम्म हो । ६ महिना पुगेपछि कालिज बयष्क बन्छ । यो अनि खानका लागि उपयुक्त मानिन्छ । भाले एक डेढ केजी र पोथी आठ सय ग्रामदेखि एक केजी सम्मको तौलको हुन्छ । खानेकुरा घाँस,मकै खान्छ । प्यारेन्ट कुखुरालाई दिने दानापनि दिन सकिन्छ ।

आफुहरुले पालेको कालिजलाई कुनै रोग नलागेको तथा कुनैपनि औषधी नदिएको बस्नेतले बताए ।

एउटा भालेको रेट ३ हजार ५ सयमा विक्रि गर्दै आएको बस्नेतले जानकारी दिए । तौल नगरी कुत्वामा कालिज विक्रि हुँदै आएको छ । किन्ने मानिसहरु फार्ममै आउने गरेका छन् । बस्नेतका अनुसार उनीहरुले बच्चा र पोथी अझैं एक वर्ष बेच्ने छैनन् ।

आफैले पालेका कालिजले दिने अण्डावाट ह्याचिङ गरि बच्चा उत्पादन गर्दै आएका छन् । कालिजको संख्या बढाउन आफुहरुले यो वर्ष माउ कालिज र बच्चा विक्रि नगर्ने उनले जानकारी दिए ।

तुलसीपुर १२ ग्वारखोलाको पश्चिम छेउमै साढे दुई विगाहा जग्गा बार्षिक ८० हजार तिर्नेगरि भाडामा लिएका छन् । १५ वर्षका लागि जग्गा भाडामा लिइएको छ । जहाँ १५÷१६ हजार जति कालिज पाल्न मिल्ने क्षेत्रफल छ ।

गरगरुवाको यो फार्म प्रदेश नं. ५ कै पहिलो व्यवसायिक कालिज फार्म हो । बस्नेतका अनुसार कालिज चिसो वातावरणमा पाल्न सहज हुने गर्छ । बाँके र बर्दिया जस्ता गर्मी ठाउँमा कालिज पाल्न गाह्रो हुने बस्नेतले बताए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *