२०८१ भाद्र २३ गते आइतवार

आत्मिक चिन्तन : वास्तविक जिवन दर्शन


डिल्ली बस्नेत “सङ्गित “
मानव जीवन प्रकृतिको अनुपम उपहार हो। प्रकृतिले प्रदान गरेको यो अमूल्य उपहारलाई सन्तुलित र समुन्नत बनाउन आवश्यक छ । यस्काेलागि मानवीय चेतनाको विकास हुनु आवश्यक छ ।

चेतना कै कारण मानव पशुभन्दा फरक देखिन्छ । तैपनि, मान्छे कहिल्यै पनि मनदेखि सन्तुष्ट हुँदैन। उसको इच्छा र आकांक्षाहरु अनन्त छन् । मनलाई शान्त राख्न, सन्तुष्टिको कलामा पोख्त हुन आवश्यक हुन्छ । याे केवल आत्मिक चिन्तनबाट मात्र प्राप्त गर्न सकिन्छ।

मन भावनाहरुको खानी हो। यसले मानिसलाई विभिन्न अवस्थाहरुमा फसाउँछ—कहिलेकाहीं आवेगमा र कहिलेकाहीं क्रन्दनमा। मनलाई नियन्त्रण गर्न र सही मार्गदर्शन दिन बुद्धिको विकास हुन जरुरी छ। तर, मानवले आफ्नो ध्यान शारीरिक सुखभोग र तामझाममा मात्र केन्द्रित राखेकाे देखिन्छ । शरीरको विकास प्रकृतिले आफैं गर्छ। बुद्धिको विकास मान्छे आफैंले गर्नुपर्छ। जब मानिस बुद्धिको विकास गर्न असफल हुन्छ, तब उसको जीवन तामझाममा मात्रै सीमित रहन्छ । यो क्षणिक र अस्थायी हुन्छ।

तामझामको जिन्दगीको कुनै स्थायित्व हुँदैन। मान्छेले बाहिरी आडम्बरमा जति नै ध्यान दिए पनि अन्ततः उसको भविष्य निरश र उजाड बन्न पुग्छ। सम्पत्तिले जीवनलाई पूर्णता दिन सक्दैन। सम्पत्ति केवल एक थोक हो । जीवनको वास्तविक सुख सम्पत्तिमा हुदैन । याे आत्मिक चिन्तनमा मात्र पाइन्छ। यस्काेलागि सादा जीवनमा, आत्मिक शान्ति र जीवनको गहिरो अर्थमा रमाउनुपर्छ। जीवनलाई एउटा उत्सवको रुपमा हेर्न सक्नेहरुले मात्र परमात्मासँगको सम्बन्धलाई महसुस गर्न सक्छ ।

शरीरको सम्बन्ध भौतिक भोगविलाससँग मात्र हुन्छ । तर आत्माको सम्बन्ध सधैं परमात्मासँग जोडिएको हुन्छ। पैसाले खरिद गर्न सकिने वस्तुहरु नाशवान हुन्छन् । अस्थायी प्रकृतिका हुन्छन्। अमूल्य चिजहरु पैसाले किन्न सकिदैन । ती आत्मिक अनुभूतिका प्रतिफल हुन्।

मान्छे अचम्मको प्राणी हो। उ सदैव भोलिको लागि बाँच्न चाहान्छ । उ भाेलिकाे लागि बाँच्दै वर्तमानलाई नजरअन्दाज गरिरहेको हुन्छ। तर, भोलिको लागि बाँच्ने क्रममा वर्तमानमा कष्ट भोग्नु भनेको भविष्यमा विपत्ति निम्त्याउनु हो। विपत्तिले जीवनलाई उजाड बनाउँछ ।

खडेरी ल्याउँछ। हराभरा जीवनको आफ्नै मूल्य हुन्छ, जसमा आशा र उज्यालोको किरण पाइन्छ। जीवन वास्तवमै एक उत्सव हो, जहाँ हरेक क्षणको आनन्द लिनु नै यसको सार हो। जीवनलाई एउटा उत्सवको रुपमा स्वीकार्न सके त्यसको गहिरो अर्थ बुझ्न सकिन्छ । याे उत्सवको वास्तविकता र रहस्य बुझ्न सके मात्र परमात्मासँगको सम्बन्ध स्वाभाविक रूपमा प्रगाढ हुन्छ।

शरीर भौतिक संसारसँग जोडिएको छ । भौतिक भोगविलासले तात्कालिक आनन्द दिलाउछ । तर ती क्षणिक हुन्छन्। शरीरको चाहना र तृष्णा कहिल्यै पूर्ण हुँदैन । किनकि यो संसार अस्थायी र परिवर्तनशील छ।

आत्मा स्थायी, अचल, र शाश्वत हो। आत्माको सम्बन्ध सधैं परमात्मासँग नै रहन्छ । मानिसलाई साँचो सुख र शान्तिको अनुभव यहि आत्माले गराउँछ। आत्मा परमात्माको एक अंश हो । आत्माको वास्तविक स्वरूपलाई बुझ्न परमात्मासँगको एकत्व हुनैपर्छ ।

जीवनको उत्सवलाई पूर्ण रूपमा अनुभव गर्न भौतिकता भन्दा माथि उठेर आत्मिक चेतनामा ध्यान केन्द्रित गर्नुपर्छ। आत्मिक विकास र परमात्मासँगको सम्बन्धमा मात्र साँचो आनन्द प्राप्त हुन्छ । याे कुनै पनि भौतिक सुखले दिन सक्दैन। जीवनलाई सही अर्थमा जिउन र यसको राजलाई बुझ्न सक्नेहरु मात्र परमात्मासँगको सम्बन्धलाई महसुस गर्न सक्छन् । यसले जीवनलाई पूर्णता दिन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *