२०८१ माघ ३० गते बुधवार

एक जिउँदो पहिचान ‘बठिनिया’

बाहिरी आँखा र सतही नजरले हेर्ने हो भने ‘बठिनिया’ एउटा गद्य कविता हो । कविले म पात्र बनेर समाजमा घटेको असफल प्रेम र धनकै कारण छुटेको कथा पनि हो ‘बठिनिया’ ।
बडो सरल शैलीमा उतारिएको छोटो, मीठो र सुन्दर रचना ‘बठिनिया’ थारू समुदायकी नौजवान युवतीको पहिचान मान्न सकिन्छ ।

 

कविले कवितामा बठिनिया पात्रलाई आफ्नी प्रेमिका मान्नु कविताको भाव हिड्ने जरिया मात्र हो । वास्तवमा ‘बठिनिया’ कविताले थारू समुदायकी एउटा युवतीले प्रयोग गर्ने पहिरनको सिङ्गो परिचय बोकेको छ ।

तिनै बठिनियाले पहिरिएको थारु पहिरनले थारू समुदायको नजरियाले हेर्ने हो भने स्वर्गकी परीलाई जित्ने सुन्दर देखिन्छिन् । त्यस्तै ‘बठिनिया’ कविताले थारू समुदायको महान पर्व माघमा नाचिने झुम्रा र दसैँमा नाचिने सख्या नाच आफ्नो पिठ्यूमा बोकेको छ भने त्यही चाडमा पकाइने पक्वान र खाइने परिकारहरू सम्झेर मुख मिठ्याइरहेको छ ।

थारू समुदायसँग जोडिएर कुनै पनि अंशबारे लेख्न, खोज्न, अध्ययन गर्न खोज्ने हो भने सिङ्गो जीवन अपुग हुनसक्छ । तथापि ‘बठिनिया’ कविताले थारू समुदायकी युवती जवान भएपछि पहिरिने पहिरनको बारेमा छर्लङ्ग पारेको छ । कविता मात्र ४० हरफ रहेको छ । ४० हरपले मात्रै पनि बठिनिया कविताले थारु समुदायकी युवतीलाई बोकेको छ ।

‘बठिनिया’ गद्य कविता पठनीय त छ नै त्यससँगै अब भने दृश्यात्मक रूपमा निर्माण भएको छ । ‘बठिनिया’ कविताका स्रष्टा खिम खेसीले लेखेको ‘बठिनिया’लाई नेपाली सिने जगतका चर्चित सुपरस्टार तथा कवि जीवन लुइटेलले आफ्नो सुमधुर बोलीले कर्णप्रिय बनाएका छन् ।

सो भिडियोमा कविताकी मुख्य पात्र बठिनियाको भूमिकामा थारु समुदायकी बठिनिया सविता चौधरी रहेकी छन् भने कविताको म पात्र विकास चौधरीले भूमिका निर्वाह गरेका छन् । क्यामेरा र सम्पादन विक्रम चौधरीले गरेका छन् ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *