२०८१ जेष्ठ १३ गते आइतवार

उच्च रक्तचाप हुँदा के गर्ने, के नगर्ने?

हामी अधिकांशले भनेको सुन्छौं– मलाई उच्च रक्तचाप छ, औषधि खान्छु। उच्च रक्तचाप हुनेबित्तिकै जीवनभर औषधि खानुपर्छ भन्ने बुझाइ छ। तर अरू केही कुरामा ध्यान दिएमा औषधिको मात्र भर पर्नु पर्दैन।

उच्च रक्तचापलाई अंग्रेजीमा ‘हाई ब्लड प्रेसर’, ‘हाइपर टेन्सन’ पनि भनिन्छ। उच्च रक्तचाप के हो र कसरी हुन्छ भन्नेबारे बुझ्न रक्तचाप के हो भन्ने बुझ्नु जरुरी छ।

सबै जीवित प्राणीको शरीरमा निरन्तर रगत बहिरहन्छ। रगत बहँदा रक्तनलीमा चाप उत्पन्न हुन्छ र यसैलाई रक्तचाप भनिन्छ। ‍यसमा मुटु र फोक्सो खुम्चिने र फुक्ने हुन्छ। मुटु खुम्चिने र फुक्नाले रक्तनलीमा रगत धेकेलिन्छ र रगत अघि बढेर शरीरका सम्पूर्ण भागमा पुग्छ। मुटु, फोक्सो र रक्तनलीले निरन्तर काम गरिरहने रक्तसञ्चारको यही सन्तुलन नै स्वस्थ अवस्था हो।

मुटुले शरीरका सम्पूर्ण कोषमा शुद्ध रगत पुर्‍याउँछ र कोषहरूबाट फोहोर रगत फोक्सोमा पुर्‍याउँछ। मुटु खुम्चिँदै र फुक्दै यसरी पठाएको रगतले शरीरका सबै भागमा पोषण मिल्छ। मुटु एउटा पम्प जस्तै निरन्तर फुक्दा र खुम्चिँदा रक्तनलीमा चाप फरक-फरक हुन्छ।

मुटु खुम्चिँदा फोक्सोबाट शुद्ध रगत शरीरतिर जाने भएकाले फुक्दाभन्दा खुम्चिँदा बढी रक्तचाप हुन्छ। मुटु खुम्चिँदाको यही चापलाई ‘सिस्टोलिक प्रेसर’ भनिन्छ। फुक्दाको चापलाई ‘डाइस्टोलिक प्रेसर’ भनिन्छ।

सिस्टोलिक प्रेसरः

बायाँ भेन्ट्रिकलले मुटुमा रहेको सफा रगत एओर्टामा धकेल्छ। यस्तो बेला मुटु बलपूर्वक खुम्चिन्छ तब रगतको चाप सबभन्दा बढी हुन्छ र यसैलाई सिस्टोलिक प्रेसर भनिन्छ। सिस्टोलिक प्रेसर ९० देखि १४० लाई सामान्य मानिन्छ।

डाइस्टोलिक प्रेसरः

शरीरका सबै भागबाट फोहोर रगत आउनुलाई डाइस्टोलिक प्रेसर (चाप) भनिन्छ। यो मुटु फुक्दाको समय हो। ९० देखि ६० सम्मको चापलाई सामान्य मानिन्छ।

सिस्टोलिक र डाइस्टोलिक प्रेसरको सन्तुलित दवाबलाई नै सामान्य रक्तचाप भनिन्छ।

पल्स प्रेसरः

मुटुबाट सफा रगत शरीरमा जानु र शरीरबाट फोहोर रगत मुटुमा आउनु रगतको चक्र हो जसलाई ‘पल्स प्रेसर’ भनिन्छ। सामान्यतया एक मिनेटमा मानिसको पल्स ६० देखि ८० हुन्छ।

उच्च रक्तचाप के हो?

सामान्यतः रगत बहने सबै रक्तनली लचिला हुन्छन्। जबसम्म रगत बहने धमनी र रक्तनलीको अवस्था स्वाभाविक र लचिलो हुन्छ तबसम्म मुटुलाई रगत शरीरतिर पठाउँदा खुम्चिन र फुक्न धेरै बल दिनु पर्दैन। तर जब यी नलीमा अवरोध हुन्छ, लचिलोपन कम हुन्छ र रगत सञ्चारका लागि मुटुलाई सामान्यभन्दा बढी बल र परिश्रम गर्नुपर्छ। जति बढी परिश्रम र बल प्रयोग हुन्छ त्यति नै जोडले रगत चल्न थाल्छ र रगतको चाप बढ्छ।

उच्च रक्तचाप भन्नाले रगत बहँदा रक्तनलीका भित्तामा हुनपर्ने सामान्यभन्दा बढी चाप हुनु हो। सिस्टोलिक प्रेसर १४० भन्दा र डाइस्टोलिक ९० भन्दा बढी भए उच्च रक्तचाप मानिन्छ।

उच्च रक्तचापलाई दुई भागमा विभाजन गरिन्छ।

साधारण- ९० देखि ९५ प्रतिशत उच्च रक्तचापको कारण थाहा नहुने भनिन्छ। कारण थाहा नभएको रक्तचापलाई साधारण रक्तचाप भनिन्छ।

असाधारण- कुनै अन्य रोग जस्तै मिर्गौला समस्या, सुगर, मुटुरोग आदिबाट उत्पन्न हुने रक्तचापलाई असाधारण रक्तचाप भनिन्छ। यो ५ देखि १० प्रतिशत हुन्छ भन्ने मानिन्छ।

साधारण रक्तचापको कारण थाहा नपाउने भएकाले निको नहुने मानिन्छ भने असाधारणलाई जुन रोगबाट आएको हो, त्यो रोग निको भएपछि ठीक हुने मानिन्छ। रक्तचाप निको नहुने र जीवनभर औषधि खाइरहनु पर्ने समस्याका रुपमा लिइन्छ। तर केही कुरामा ध्यान दिए र सावधानी अपनाए निको हुन सक्छ।

रक्तचाप हुनुका कारणः

१. अनुचित आहारः

हामी जे खान्छौं त्यसैले हाम्रो शरीर निर्माण हुन्छ, त्यही खानाले रगत पनि बन्छ। अनुचित खानपानले शरीरमा फोहोर जम्छ। त्यही फोहोर रगतमा मिसिन्छ र रक्तनलीमा फोहोर जम्मा हुन्छ। यसले रक्तनली साँघुरो बनाउँछ र नलीहरूमा अवरोध हुनु नै रगतको चाप बढ्नुको मुख्य कारण हो।

२. अनुचित विहारः

हाम्रो शरीरले गर्ने गतिविधिका कारण पनि रक्तचाप बढ्छ। शरीरको क्षमताभन्दा बढी परीश्रम र धपेडी गरे रक्तचाप बढ्छ। त्यसैले सधैं काम र आरामको सन्तुलन हुनुपर्छ। सामान्यतः वयस्क व्यक्तिलाई २४ घन्टामा ६ देखि ८ घन्टा निद्रा आवश्यक पर्छ।

त्यसैगरी जुनुसुकै काम गर्दा मेरुदण्ड सिधा र खुकुलो हुनुपर्छ ताकि स्नायुसञ्चार र रक्तसञ्चार स्वभाविक रूपले चलोस्। टाउको झुकाएर वा निहुराएर बस्न हुँदैन। झुकेर बस्दा टाउकोसम्म रगत सञ्चार राम्रोसँग हुन पाउँदैन र तनावयुक्त विचार आउँछ। हिँड्दा छाती फुलाएर हिँड्नुपर्छ, यसले रक्तसञ्चार राम्रो हुन्छ र आत्मबल बढाउँछ।

३. अनुचित विचारः

रक्तचाप बढ्नुमा आहार, विहारको जति भूमिका हुन्छ, त्यत्तिकै विचारको पनि रहन्छ। रिस, चिन्ता, लोभ, मोह जस्ता विचारले रक्तचाप बढ्न सक्छ। त्यसैले सधैं शान्त रहनुपर्छ।

४. कब्जियत र मोटोपनः

कब्जियत र मोटोपनले पनि रक्तचाप बढ्छ। आहार जहिले पनि कब्जनिवारक हुनुपर्छ भने तौल नियन्त्रणमा हुनु पर्छ।

अन्य कारणहरूः

–नुन चर्को खानु (नुनले रक्तनली खुम्च्याउँछ र पानी बढी सोस्छ। पिसाब नभएसम्म शरीरमा रगतको मात्रा बढी हुन्छ। त्यसैले प्रेसरमा पिसाब खुलाउने औषधि पनि दिइन्छ।)

–माछा, मासु, अमिलो चिया, कफी, कोल्ड ड्रिंक, गर्मी गराउने खाना जस्तै पिरो, मसला, कृत्रिम तेल-चिल्लोमा तारेभुटेका खाना, मैदाबाट बनेका खाद्यान्न बढी खानु।

–रक्सी, चुरोट, खैनी खानु।

–बारम्बार या धेरै खानु।

–पानी कम हुनु।

–व्यायाम नगर्नु।

–आँखाको कमजोरी, मृगौलाघात, मस्तिष्कघात, पक्षघात, हृदयघात, दृष्टिघात आदिका कारण पनि रक्तचाप बढ्न सक्छ।

रक्तचापका लक्षणः

-शरीर भित्रभित्रै गर्मी बढ्नु, मन बेचैन हुनु।

-टाउको दुख्नु, मुख्यतया पछाडि भागमा झुम्म भएर दुख्नु।

-रिंगटा, वाकवाकी लाग्नु।

-अनिद्रा वा थकान हुनु।

-छाती भारी हुनु, सास फुल्नु।

-अलि धेरै नै रक्तचाप बढे नाथ्री फुटेर रगत बग्ने पनि हुन्छ।

यी समस्या देख्नेबित्तिकै प्रेसर जँचाउनु पर्छ। सिस्टोलिक १२० र डाइस्टोलिक ८० भन्दा बढी भए रक्तचाप बढेको मानिन्छ।

प्रेसर बढ्नेबित्तिकै औषधि खाइहाल्न पर्दैन। बरू मन, शरीर र पेटलाई आराम दिनु पर्छ। मनलाई आराम दिनु भनेको विचारमा शान्त रहने, शरीरलाई आराम भनेको धपेडी नगर्ने र पेटलाई आराम भन्नाले उपवास, रसाहार, फलाहार वा सादा आहारमा बस्ने।

यी तीन चिज मिलाउँदा रक्तचाप केही दिनमै कम हुन सक्छ।

रगत सफा रहन र स्वस्थ रहन भोजन कस्तो गर्ने?

कब्जियत नगराउने, नमोटाउने, सुपाच्य, सादा र प्राकृतिक भोजन हुनु पर्छ। भोजन जति सुपाच्य भयो, शरीरलाई पाचन गर्न त्यति नै सजिलो हुन्छ। शरीरले बढी काम गर्नु पर्दैन र प्रतिरोध क्षमता बढी हुन्छ। भारी खानेकुरा पचाउन शरीरले धेरै शक्ति खर्च गर्नुपर्छ र प्रतिरोध क्षमता कम हुन्छ।

खानामा लगभग ७० प्रतिशत रेशा र छोक्राबोक्रा हुनु पर्छ। यो ताजा हरिया सागसब्जी, फलफूल, सलाद र अप्रशोधित अन्न, जस्तै खैरो चामल, गहुँको पिठो, च्याँख्ला, मकै, फापर आदिमा प्रशस्त पाइन्छ। अन्न, हरिया तरकारी र काँचो सलाद, फलफूल तीनै थरी मिलाएर बरोबर खाँदा कब्जियत हुँदैन। कब्जियत नरहेपछि शरीरमा फोहोर जम्मा हुन पाउँदैन। यसले मोटोपन हुँदैन र रगत सफा हुन्छ।

सामान्यतया बढी नुनले हानी नै गर्छ। उच्च रक्तचापमा नुन, चिल्लो र गर्मी गराउने मसलावर्ग, चिया, कफी आदि खानु हुँदैन। त्यसैगरी फलफूलमा अमिलो गुणका र अनार खानु हुँदैन।

कति रक्तचाप हुँदा के गर्ने?

१५०/९० भएमाः

यो अवस्थामा औषधि खाइहाल्नु पर्छ भन्ने छैन। खाना, सागसब्जी, सलाद-फलफूल तीनै थरी बराबर मिलाएर खाने। नुन कम गर्ने, नियमअनुसार उचित पानी खाने। मर्निङवाक वा हलुका योग-व्यायाम गर्न सकिन्छ।

१६०/१०० भएमाः

यो अवस्थामा नुन ३ देखि ५ दिनसम्म बन्द गरी सादा खाना र उचित मात्रामा पानी खाने। यसो गर्दा ३ देखि ७ दिनभित्र प्रेसर कम हुन्छ। तौल बढी भए मोटोपन घटाउने तरिकाले खानपान गर्नुपर्छ जसमा खाइरहेको खानामा १ भाग कम गर्ने। नुन कम भएको हरियो तरकारी दुई कचौरा र खानालगत्तै अमिलो गुण नभएका सलाद-फलफूल खाने।

धपेडी र तनाव मुक्त पनि रहनै पर्छ। सास नफुल्ने गरी केही समय हिँड्न सकिन्छ। हलुका अंगव्यायाम, सुतेर गर्ने र कब्जियत खुलाउने आसन र सरल प्राणायाम गर्न सकिन्छ।

१८०/११० भएमाः

यो अवस्थामा शरीर, मन र पेट सबैलाई आराममा राख्नु पर्छ। पेटलाई आराम भन्नाले दिनमा २ छाक खाना र खाजामा हलुका आहार (अमिलो गुण नभएका फलफूल) खान सकिन्छ। प्रेसर सामान्य नभएसम्म नुन नखाने। तौल बढी भए घटाउने हिसाबले खाने। प्रेसर दैनिक जाँच गरिरहने। सामान्य भएपछि पनि केही दिन नुन कमै खाने।

यो अवस्थामा कुनै व्यायाम गर्नु वा हिँड्नु हुँदैन। सरल प्राणायाम गर्न सकिन्छ तर छातीलाई धपेडी हुने गरी सास तान्ने-छाड्ने गर्नु हुँदैन।

२००/१२० भएमाः

यो अवस्थामा शरीर, मन र पेट सबै पूर्ण आराममा रहनुपर्छ। ३ देखि ५ दिनसम्म रसाहार या फलफूल मात्र खाएर शरीर र पेटलाई आरामा राख्नु पर्छ। प्रेसर ठीक भएन भने ७ दिनसम्म रसाहार या फलाहारमा रहनु पर्छ। प्रेसर कम भएपछि पनि सामान्य नभएसम्म नुन नखाने वा धेरै कम मात्र लिने।

यो अवस्थामा कुनै व्यायाम गर्नु हुँदैन। सरल प्राणायाम पनि मुटुलाई रत्ति अप्ठ्यारो नुहने गरी मात्र गर्न सकिन्छ।

यसरी शारीरिक र मानसिक दुवै रूपमा शान्त र आराममा रहेर, खाना मिलाएर खाएमा, ७२ घन्टामा बढेको प्रेसर कम हुन सक्छ। तौल भने ठीक ठाउँमा ल्याउनु पर्छ, मोटोपन नघटेसम्म उच्च रक्तचाप पूर्ण रूपमा कम हुँदैन।

तर यसरी सबै मिलाउँदा पनि प्रेसर कम भएन भने अन्य रोग कारण हुन सक्छ। माथि उल्लेख गरिएका सरल उपाय हुन्। यसरी मिलाउन नसकेमा औषधि खानुपर्छ। औषधि खाँदैमा पनि कम हुन्छ भन्ने छैन, औषधिसँगै खानपान ठीक हुनुपर्छ।

औषधि खाएर मात्र रोग कम गर्न खोज्दा शरीरबाट फोहोर निस्कासन हुन पाउँदैन र शरीरले अर्को बाटो मार्फत विकार निस्कासन गर्न खोज्छ। जस्तै प्रेसरको औषधि खाँदा विस्तारै सुगर हुन सक्छ। त्यसैले औषधिसँगै खाना पनि मिल्नु पर्छ। खाना मिलाएर खाँदा शरीरमा जम्मा भएको फोहोर निस्कासन हुन पाउँछ र शरीर सफा हुन्छ।

सावधानीः औषधि खाइरहेका र अत्यधिक रक्तचाप भएकाले विज्ञसँग परामर्श लिएर मात्र खाना मिलाउने गर्नु पर्छ।

मुख्य कुरा औषधि खाएर होस् वा खाना मिलाएर, रक्तचाप सधैं ठिक्क राख्नुपर्छ।

निम्न रक्तचाप/ लो ब्लड प्रेसरः

रक्तचापको कुरा गर्दा निम्न रक्तचापका बारेमा पनि बुझ्न जरुरी छ। सिस्टोलिक रक्तचाप ९० र डाइस्टोलिक ७० भन्दा कम छ भने निम्न रक्तचाप मानिन्छ। तर यस अवस्थामा रहेर पनि कुनै गम्भीर लक्षण छैन भने ठीक मान्नुपर्छ, डराइहाल्नु पर्दैन।

लक्षणहरूः

कमजोर हुने, रिंगटा लाग्ने, झुम्म हुने, टाउको पछाडि भाग दुख्ने। कहिलेकाहीँ धेरै पसिना बगेर पनि रक्तचाप कम हुन्छ। खानामा हरिया सब्जी र शरीरमा झोलिलो पदार्थ कम हुँदा पनि रक्तचाप कम हुन्छ।

उच्च र निम्न रक्तचापका सामान्य लक्षण उस्तैउस्तै हुन्छन्। रक्तचाप कम हुँदा खाना खाएर आराम गर्दा रिंगटा लाग्ने लक्षण कम हुन्छ। उच्च रक्तचापमा भने टन्न खाना खानु हुँदैन। एसिडिटी बढ्दा पनि रिंगटा लाग्न सक्छ। तर रक्तचाप कम भएर रिंगटा लागेको आराम गरेपछि कम हुन्छ भने एसिडिटीले लागेको रिंगटा आरामले कम हुँदैन।

रक्तचाप कम भएमा जीवनजल, नुन-चिनी-पानी, तरकारीको सुप, अनारको जुस खाने। आराममा बस्ने।

उच्च रक्तचापमा कस्ता व्यायाम र व्यवहार गर्ने?

रक्तचाप अलिअलि मात्र बढेसम्म सामान्य सबै व्यायाम गर्न सकिन्छ। ४५–६० मिनेट मर्निङवाक गर्न सकिन्छ। तर धेरै धपेडी हुने गरी दौडिनु हुँदैन। उफ्रिने, कुद्ने, भारी जिम जस्ता मुटुलाई भार पर्ने भारी व्यायाम गर्नु हुँदैन।

अंगव्यायाम, हलुका आसन, सुतेर उत्तानो परेर गर्ने पेटका आसन, उठेर गर्ने कब्जियतका आसन, शिथिलीकरण गर्न सकिन्छ। तर निहुरिएर गर्ने व्यायाम गर्नु हुँदैन।

नारीशोधन र सरल प्राणायाम गर्न सकिन्छ। तर सास छिटोछिटो तान्ने र छाड्ने कपालभाँती, भास्त्रीका जस्ता मुटुलाई धपेडी पुग्ने खालका प्राणायाम नगर्ने। उच्च रक्तचापमा शिथिलीकरणका आसन गर्न सकिन्छ। सवासनमा बसेर सरल प्राणायाम गर्न सकिन्छ।

व्यायाम गर्दा मुख खुला गर्नु हुँदैन, मुख बन्द गरेर सास तान्ने र छाड्ने गर्नुपर्छ। आफ्नो क्षमताभन्दा बढी सास तान्ने र छाड्ने गर्नु हुँदैन।

उच्च रक्तचाप भएकाले व्यायाम गर्दा हरेक आसनपछि दुई देखि पाँच पटक सक्दो गहिरो सास तान्ने र छाड्ने गर्नुपर्छ। यसले अक्सिजनको कमी पूरा गर्छ।

१६०/१०० भन्दा बढी प्रेसर भए खाना मिलाएर पूर्ण आराममा रहनु पर्छ। कब्जियत नगराउने, नमोटाउने खानपान गर्ने। खाना चपाई-चपाई विस्तारै खाने, खानासँग पानी नपिउने र खाने बित्तिकै नसुत्ने। बेलुकी अबेरसम्म नबस्ने र बिहान चाँडै उठ्ने। बिहान व्यायाम गर्ने, हावामा हिँड्ने। चिन्ता र तनावबाट मुक्त हुने।

रक्तचाप निम्न परिस्थितिमा सबैमा बढ्छः

खाना खानेबित्तिकै, कुनै प्रकारको व्यायाम गर्नेबित्तिकै, धेरै खुसी हुँदा, मन आत्तिँदा र डराउँदा, रिस, चिन्ता, तनाव, आवेगमा, चिसो पानीले नुहाउनेबित्तिकै (चिसो पानीले नुहाउँदा रक्तनली खुम्चिन्छ, रौं ठाडा हुन्छन् र रक्तचाप बढ्छ)।

 

श्रोत ः सेतोपाटी

 

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *