२०८० चैत्र १६ गते शुक्रवार

तोलाकै ७७ हजार ६ सय पुग्यो सुनको भाउ, मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं, फागुन ८ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बिहीबार छापावाला सुनको मूल्यले ७७ हजार ६ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

बुधबार प्रतितोला ७७ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बिहीबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बिहीबार बढेर प्रतिऔंस १६ सय ९ अमेरिकी डलरमा पुगेको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *