२०८१ बैशाख ७ गते शुक्रवार

घुइयाँको भाउमा सहकारीको जग्गा बिक्री (भिडियो सहित)

राजेश खत्री
हापुरे, मंसिर २५ ।
पश्चिम दाङमा एउटा सहकारी संस्थाका पदाधिकारीले शेयरसदस्यहरुलाई झुक्याएर करोड बढीको जग्गा घुइयाँको भाऊमा बिक्री गरेको खुल्न आएको छ । बबई गाउँपालिकास्थित बाघमारे सहकारी संस्था लिमिटेडको जग्गा त्यसका अध्यक्ष चूडामणि कँडेलले पाँच विगाह जग्गा प्रचलित दररेट भन्दै निकै सस्तोमा बिक्री गरेको आरोप असन्तुष्ट शेयर सदस्यहरुले लगाएका छन् ।

मंगलबार सहकारी संस्थाका पूर्व अध्यक्षलगायत अन्य शेयर सदस्यहरुले बबई गाउँपालिकामा पत्रकार सम्मेलन गरी अध्यक्ष कँडेलले शेयर सदस्यलाई झुक्काएर मनोमानी ढंगले संस्थाको जग्गा घुइयाँको भाऊमा बिक्री गर्नुले ठूलो आर्थिक चलखेल भएको आशंका पैदा भएको दाबी गरे । संस्थाका पूर्व अध्यक्ष तथा शेयर सदस्यहरु कृष्णबहादुर खत्री, दुर्गा भण्डारी, कुलबहादुर केसीलगाएतका व्यक्तिहरुले बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित संस्थाको पाँच विगाह जग्गा अध्यक्ष कँडेलले शेयर सदस्यलाई झुक्याएर सस्तोमा जग्गा बेच्नुले आर्थिक अनियमितता भएको आशंका पैदा भएको बताएका हुन् ।

उनीहरुका अनुसार असोज २२ गते बसेको संस्थाको साधारणसभामा शेयर सदस्यलाई एकसय ५० रुपैयाँ भत्तास्वरुप प्रदान गरिएको रकममा हस्ताक्षर गराएर त्यसैलाई गलत तरिकाले पाँच विगाह जग्गा बिक्री गर्ने माइन्युट तयारी गरी घुइयाँको भाऊमा सहकारीको जग्गा बिक्री गरेको आरोप उनीहरुले लगाएका हुन् । आफ्ना साला तथा गाउँपालिका अध्यक्षलाई सहकारीका अध्यक्ष कँडेलले मिलेमतोमा घुइयाँको भाऊमा जग्गा बिक्री गरेर विधान विपरीतको कार्य गरेको उनीहरुको भनाइ छ ।

दुई बर्ष अगाडि अध्यक्ष कँडेलले संस्थाको जग्गा अढाइ कठ्ठा जग्गा प्रति कठ्ठा १३ लाखको दरले बेचेको भएपनि अहिले त्यही जग्गा प्रति कठ्ठा ३३ हजारको दरले गाउँपालिकालाई बेचेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसको विरोधमा संस्थाका बहुमत ९ सय ४ सदस्यले उच्च अदालत तुलसीपुरमा हस्ताक्षर गरेर अध्यक्ष कँडेलको पक्षमा मुद्दा दिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कँडेलको पक्षमा जम्मा ६ सय १६ जना मात्रै शेयरसदस्य रहेको रहेको दाबी गरिएको छ । पछिल्लो समय संस्थाको ३० विगाह ९ कठ्ठा जग्गामध्ये गाउँपालिकालाई प्रचलित दररेट भन्दै निकै नै सस्तो दरमा पाँच विगाह जग्गा बिक्री गरेर संस्थाका सबै शेयर सदस्यको भावनामाथि खेलवाड भएको उनीहरुले पत्रकार सम्मेलनमा बताएका थिए । सहकारीको चल अचल सम्पत्ति बिक्री गर्दा बहुमतले पारित गर्नुपर्ने तथा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने प्रावधान विपरीत अध्यक्ष कँडेलले मनपरी गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । बाघमारे सहकारी संस्था लिमिटेडसँग जग्गाबाहेक झण्डै ४३ लाख जति पुँजी रहेको जानकारी दिइएको छ ।

हेर्नुहोस भिडियो 

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *