२०८१ बैशाख १२ गते बुधवार

आज रातभरमा तालको पानी पुरै सुकाउने तयारी

दाङ, मंसिर ११ । मंगवार दिनभर तालिम प्राप्त गोताखोरले खोज्दापनि तालमा डुवेका युवालाई फेला पर्न नसकेपछि अब ताल पुरै सुकाउने तयारी भइरहेको छ । दाङका प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले आजरात भरिमा ताल सुकाउने प्रयास भइरहेको फरक कोणलाई जानकारी दिए ।

‘कुलिनटार बाट झिकाइएका तालिम प्राप्त गोताखोरले रबर बोटको प्रयोग गरि मंगलवार दिनभर खोज्दा पनि डिसीलाई फेला पार्न सकिएन,’ एसपी पाण्डेले भने ‘ अब ताल पुरै सुकाउनुको विकल्प छैन ।’

पाण्डेले रातभरी थप पम्पिङसेट र मोटर चलाएर भएपनि बुधवार विहानसम्ममा तालको पानी सबै सुकाउने गरि प्रयास गरिने जानकारी दिए । यो बीचमा आधा दर्जन जति पम्पिङसेट र मोटरहरु बाट निरन्तर पानी तान्दै आएको भएपनि तालको पानी भने सुकेको छैन । नजिकै रहेको एउटा तालको डिल भत्काउँदा समेत पानी नसुकेको प्रहरीले जानकारी दिएको छ । ‘अझैं डुवेको तालमा सानो तिनो खोलो जत्रै पानी बग्छ, त्यसैले समस्या भएको छ,’ एसपी पाण्डेले भने ‘ तर,आज रातरभर थप क्षमताका पम्पिङसेट र मोटर थप्दैछौंं र रातभर पानी सुकाउँ छौं ।’ उनले बुधवार सम्ममा बेपत्ता युवालाई पत्ता लगाएरै छोड्ने आशा व्यक्त गरे ।

तीनदिन खोज्दापनि डिसी फेला परेनन्

घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने १८ वर्षीय लक्ष्मण डिसी आइतबार दिउँसो तालमा डुवेर बेपत्ता भएका छन् । उनी घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा गत साल घोराही उपमहानगपरपालिकाले निर्माण गरेको कृत्रिम तालमा नुहाउने क्रममा डुवेको प्रहरीले जानकारी दिएको छ ।

डिसीको खोजीको लागि यसअघि दुई दिनसम्म दाङ मै उपलब्ध नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पौडिबाजहरुले खोज्ने प्रयास गरेका थिए । तर त्यो संभव नभएपछि प्रहरीले गृहमन्त्रालयलाई आग्रह गरेर कुलिनटार बाट दुईजना तालिम प्राप्त गोताखोर दाङमा बोलाएको थियो । सशस्त्र प्रहरीमा कार्यरत ती दुईजना गोताखरले मंगलवार विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रवर बोटको प्रयोग गरि खोज्दा पनि डिसीलाई फेला पार्न भने सकेनन् । तालमा हिलो र पानीको मात्रा धेरै रहेको हुँदा खोजीमा समस्या हुँदै आएको प्रहरीले बताएको छ । ‘तीन दिनदेखि हाम्रो सम्पूर्ण शक्ति लगाएर खोजी गर्दापनि बेपत्ता डिसीलाई फेला पार्न सकिएन र त्यो प्रयास अझैं जारी नै रहन्छ’ एसपी पाण्डेले भने । आइतबार दिउँसो साथीहरु संग क्रिकेट खेलेर सकेपछि १८ बर्षीय लक्ष्मण डिसी र उनका साथी नुहाउन भनि तलाउमा पौडिखेल्न गएका थिए । अरु साथीहरु उत्रन सफल भएपनि डिसी भने तालमा डुब्न पुगेको प्रहरीले जानकारी दिएको छ ।

पिडित र स्थानीयले भने खोजीमा स्थानीय सरकारले समयमै गम्भीरता नदेखाएको भन्दै तालमै नारावाजी गरेका छन् । ‘पहिलो दिन नै तालको डिल फोडौं भन्दा मेयरले माछा भाग्छन् भनेर फुटाउन हुँदैन भने’, एकजना स्थानीयले भने ‘त्यसपछि त्यहाँ उपस्थित स्थानीय माछा ठूलो कि मान्छे ठूलो भन्दै मेयरका विरुद्ध नारावाजी गरेका हुन ।’

यो पनि पढ्नुहोस 

बेपत्ता युवा फेला पर्न नसकेपछि स्थानीयले नारावाजी गर्न थाले

दिनभर खोज्दा पनि बेपत्ता डिसी फेला परेनन्

तालमा डुवेका युवा खोज्न सेना परिचालन

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *